Saturday, July 18, 2015

भैँसी

   भैँसी

कथाकार :- अरुण ज्ञवाली ( Arun Gnawali  )

कुलचन्द्र पन्डितको घरमा भर्खर एउटा भैँसी ब्याएको थियो । त्यो भैँसीले पाएको सानो पाडि बल्लबल्ल १ २ पाइला हिंड्नसक्ने भएको थियो । बर्खाको समय थियो, वारिपारीको हरियाली र मनोरम बातावरण देख्दा सानो पाडि अत्यन्तै खुशी थियो ।      तर त्यो पाडिको खुशी धेरै बेर टिक्न पाएन केहीबेरमै कुल्चन्द्र पन्डितले दाम्लो ल्याएर पाडिलाई बाँधिदिए ।      
समय बित्दै गयो । भर्खर ब्याएको भैंसि र पाडि दिनभरी किलामा बाँधिएर बस्थे । बिहान साँझ भैंसिले दिने दुध पनि पाढिले राम्ररी खान नपाउदै लतार्दै लगेर किलामा बाधिदिन्थे र सबै दुध मानिसले नै लैजाने गर्थे । त्यो देखेर एक दिन पाडीले आमा भैँसिलाइ मान्छेले किन हामीलाई एसरी बाँधेर राखेका अनी मेरो भागको दुध जबर्जस्ती लगेका भनेर सोधी । आमा भैंसिले पाडिलाई मानिसहरुले आफुहरुलाई घास खान दिएको अनी पालेको कारण त्यसो गरेको जवाफ दि ।  
  अर्को बर्ष भैँसीले फेरी पाडो पाइ । २ ४ दिन पछी पाडो पनि हुर्किदै गयो । पाडि र पाडो साह्रै मिल्ने गर्थे । दुबै नजिकै बाँधिनु पर्ने कारण मानिसले दिएको मिलिजुली खान्थे । करिब १ बर्ष पछीको कुरा हो कुलचन्द्र पन्डितले पाडो बेचिदिए । आफु भन्दा सानो आफ्नो भाईलाई आफुबाट छुटाएर लगेपछी १ २ दिन त पाडिले केही खाइन । तर कुलचन्द्र पन्डितकी पत्नी साह्रै कडा स्वभाबकी थिईन । एक साँझ उनले लठ्ठी ल्याएर पाडिलाई पिट्न थालिन । पिटाइ त पाडिले पहिले पनि खाएकी थीइ तर त्यस दिनको पिटाईले उसको ज्यानभरि चोट लाग्यो । त्यो रात उ धेरै रोइ तर उसको पिडा सम्झिने उसकी आमा मात्र थीइ जो आँफै असहाय थीइ ।     
त्यै बर्ष कुल्चन्द्र पन्डितले आमा भैँसीलाई पनि बेचे । आमा भैँसी अब ब्याउन नसक्ने बुढी भैसकेकि थीइ । यस्तो थारो भैँसी पालेर के गर्नु ? पुर्नेलाई दिए पोखरा लैजान्छ , एक साँझ पन्डित दम्पतिले कुरा गरेको भैँसी र पाडिले सुने । त्यो रात दुबै आमा छोरिले केही खाएनन । भैँसीले त्यो घरमा धेरै बर्ष बिताएकी थीइ । कुलचन्द्र पन्डितले त्यो भैँसी किनेर ल्याउदा एउटा राम्रो गोठ सम्म थिएन । एक बर्ष सम्म टिनको पातोमुनी साह्रै कस्टपूर्ण समय बिताएकी थीइ भैंसिले । कहिले घामले पोल्थ्यो त कहिले जाडोले अत्याउँथ्यो । त्यै छाप्रोमा बस्दा बाघले उसको एउटा पाडो खाइदिएको थियो । ति सबै दु:ख कष्ट सहेर अनी धेरै पटक ब्याएर अाफ्ना मालिकहरुको सेवा गरेपनी अब बुढी भएपछी बेचिनु पर्ने भएपछी उसले मन थाम्न सकिन । अर्को दिन पुर्नेले पैसा दिएर भैँसिको दाम्लो फुकाउन लाग्यो । पन्डितले तलाई भैँसी सस्तै दिएँ है पुर्ने भन्दै नोठ गन्दै थिए । पुर्नेले दाम्लो फुकाएर  बुढो भैँसिलाई लतार्दै लग्यो । एक अर्काले देखुन्जेल भैँसी र पाडि कराइरहे । अली पर मोढमा पुगेपछी पुर्नेले भैँसिलाइ एक पटक जोडले हान्यो , बिचरा बुढो भैँसी पुर्नेले जता जता लैजान्छ तेतै तेतै गयो ।     
कुलचन्द्र पण्डितको कान्छो  छोरो कपिल पाडि भन्दा केही महिना पछी जन्मेको थियो । कपिलले सानोमा खान साह्रै दु:ख दिन्थ्यो । उसलाई खुवाउनु परेमा त्यै पाडि देखाउन लैजानु पर्थ्यो । उ आँफै पनि अली अली बोल्न सक्ने भएपछी आँय जाम भनेर भनिरहन्थ्यो । भैँसीको गोठमा गएपछी कपिलले पाडिलाई चलाई रहन्थ्यो । पाडि पनि कपिललले चलाऊदा आनन्द मान्थी । सानोमा ति दुई साथी नै थिए ।चार बर्ष पुगेपछी पाडि ब्याइ , अब उ भैँसी भै । पहिलो पटक ब्याउदा उसले पाडो पाइ । पहिलो पटक ब्याउदा पुसको रातिको समय थियो असाद्धै चिसो , साह्रै कस्टपूर्ण समय उसले बल्ल बल्ल बिताइ । ब्याउदाको शारिरिक पिडा र अत्यन्तै चिसो मौसमले उसलाई हरेक पल बिताउन बर्ष बिताएजस्तै हुन्थ्यो । यता कुलचन्द्र पण्डितको भने भैंसिले पाडो पाएकोमा खुशीको सिमा नै थिएन । 'जनावर पालेर मार्नलाई बेच्ने  , मार्न लैजाने  , मार्न सहयोग गर्ने , मार्ने , मासु पकाइदिने र  मासु  खाने सबैलाई हत्या गरे सरह नै पाप लाग्छ ' पन्डित जी प्रवचनमा यस्तै भन्थे तर उनी आँफैलाई त्यस्तो पाप कती लागेको छ त्यो उनलाई मतलव थिएन , उनलाई त पैसा सँग मात्र मतलब थियो ।
  कपिल २ बर्षको नपुग्दै पन्डितनी आमै सार्है बिरामी भईन । आमा लामो समय सम्म बिरामी भएपछी कपिलले छोरी भैँसिकै दुध खाएर हुर्कियो । सानो कपिललाई देख्दा भैँसी साह्रै खुशी हुन्थी । अनी कपिल पनि भैँसी र पाडोलाई असाद्धै माया गर्थ्यो । करिब् १ बर्ष पालेपछि कुल्चन्द्र पन्डितले भैँसीको पाडो बेचिदिये ।   पुर्ने र राइँलो आएर पाडोलाई लतार्दै र पिट्दै लगे । भैँसी धेरैबेर रोइ कती दिन घास खाइन तर त्यँहा उसको पिडा बुझ्ने को थियो र ?  भगवान ले मान्छेलाई दिमाग र मन दिएका छन ता कि संसार को सबैभन्दा बिकसित प्राणिले  सजिलै सँग ठीक बेठिक, असल खराब छुट्टाउन सकोस र असहाय जीबहरुलाई माया र सुरक्षा प्रदान गरोस , तर मानिसले सधैं असहाय जीबहरुलाई यातना दिने तद्पाउने बाहेक अरु राम्रो केही गर्न सिकेकै छैन ।  
त्यै भैँसीको दुध खाएर कपिल हुर्कियो । यतिसम्मकी उसलाई तिर्खा लागेपनी पानी पिनुको सट्टा दुध नै खान्थ्यो । समय बित्दै गयो अनी कपिल पनि पढ्न जान थाल्यो । केही बर्षपछी भैँसी फेरी ब्याइ र अर्को पाडो  पाइ । एक बर्षपछी धेरै दुध दिने भैँसी र पाडो  कुल्चन्द्र पन्डितले खिमबहादुर लाई बेचे । दशै अाउनै लागेको समयमा राम्रो पैसा पार्न सकेकोमा पन्डित जी मख्ख भए । एउटा उजाड दिउसो खिमबहादुर र उसका साथीहरु आएर भैँसी र पाडो लगे ।  आफु जन्मेको र धेरै समय बिताएको घर छाड्ने बेलामा भैँसिलाइ साह्रै नरमाइलो लाग्यो उसलाई अन्तिम समयमा एकपटक कपिललाई देख्न मन लागेको थियो तर उ स्कुल गएको कारण भैँसीको अन्तिम इच्छा पनि पुरा हुन पाएन ।  
खिमबहादुर दलित संघको नेता थियो । अधिकाम्स  दलितहरुको आर्थिक अवस्था अझै दयनिय रहेपनी खिमबहादुरको आर्थिक अवस्था अरुको तुलनामा मजबुत थियो । उसको जेठो छोरो दुबै ( UAE) थियो भने कान्छोले पढ्दै थियो ।भैँसिलाइ कुलचन्द्रकहाँको बसाइ त कस्टपूर्ण थियो नै खिमबहादुर कहाँको त्यसभन्दा पनि कयौँ गुणा कस्टपूर्ण थियो । खिमबहादुर आफु कुनै काम गर्दैनथ्यो । दिनभरी टक्सार बजार तिर गएर संगठनको काम गर्थ्यो वा त्यसै हल्लन्थ्यो र राती रक्सी पिएर आउँथ्यो । उसको घरमा झगडा नभएको कुनै रात हुँदैनथ्यो । कती पटक त झगडा पिटापिट मा पुगेर टुंगिन्थ्यो । रक्सिको नसामा खिमबहादुर कैयौँ पटक भैँसी काट्छु भन्दै खुकुरी लिएर हिड्थ्यो । छोरो र श्रीमती आएर उसलाई समाएर लैजान्थे ।  
अगिल्लो बर्ष जन्मिएको पाडो निकै खाइलाग्दो भएको थियो । खिमबहादुरको घरमा आउने हरेक मान्छे पाडो हेरेर छक्कै पर्थे ।  जाडो गर्मी र बर्षा बितेर फेरी दसैं अाउनै लागेको थियो । यो दशैको लागि भनेर खिमबहादुरको जेठो छोरो टिकाराम पनि दुबइबाट घर आएको थियो । अष्टमिको दिन बिहानै खिमबहादुरको घरमा वल्लो घरको नन्दे र पल्लो घरको झबे सम्मका मानिस जम्मा भएका थिए । खिमबहदुरको जेठो छोरो टिकाराम र कान्छो छोरो टेकबहादुर मिलेर आगनमा त्रिपाल बिछाए । नन्दे र झबे मिलेर १ डेप्ची पानी उमाले । खिमबहादुरले आगनको कुनापट्टी ठुलो हसिया उदाएको भैँसी र पाडोले देखेनन । टेकबहादुर आएर पाडोलाई फुकाएर लग्यो । पाडो र भैँसी आँय गर्दै कराए । उताबाट खिमबहादुरले उदाएको ठुलो हसिया लिएर आएपछी मात्र भैँसी र पाडोले कुरा बुझे । एकैछिन कस्ले काट्ने भनेर बिबाद चल्यो । अन्तत दशैकै लागि भनेर बिदेसबाट आएको टिकारामले काट्न पाउनुपर्ने तर्क बलबान ठहरीयो ।  नन्देले पाडाको दाम्लो बेसरी समाएर तान्यो, झबेले दुबै खुट्टा समाएर पछाडी तान्यो, टेकबहादुर  रगत थाप्ने भन्दै बाँटा लिएर आयो । पाडो त्यहाँबाट भाग्न अन्तिम बल लगायो तर उसको केही सिप चलेन । टिकारामले हसियाले मार हान्न ठीक्क पर्दा पाडोले दुबै आँखाबाट तररर आसुँ बगायो । तर उसले बगाएको आँसुको त्यहाँ कुनै मुल्य थिएन । जीवनको अन्तिम घडीमा उसलाई मानिसप्रति असाद्धै रिस उठ्यो । चरम निरासाले र डरले उसले अरु केही सम्झिएन । त्यत्तिकैमा पहिलो मार उसको घाँटिमा बज्रियो । यो मारले उसको घाँटी छिनिएन । पाडो पिडाले रन्थनिएर आँय आँय गर्दै उफ्रिन थाल्यो । छिनिएन हा हा हा हा गरेको आवाज वरीपरी गुन्जियो । पाडोलाई काट्न लागेदेखिनै भैँसीका आसुँ आँखाबाट भुइसम्म चुहेका थिए । आफ्नो छोराको त्यो हालत देख्नासाथ उ भुइमा थचक्क बसी । टिकारामले पाडोलाई फेरी हान्यो तर पाडो फेरिपनी छिनिएन । पाडो र भैँसिको करुणाजनक आवाजले सायद ढुङ्गाको मन  पग्लियो तर संसारको सबैभन्दा बुद्धिमानी प्राणी मानिसको मन पग्लिएन । नन्दे र झबेले पाडोलाई समाइरहे टिकारामले मार हानिरह्यो । पाँच पटकको पालिमा पाडो छिनियो । टेकबहादुरले देप्चीमा रगत थाप्यो अरु सबै गललल हाँसे । मानिस भनिने राक्षसहरुको हिम्श्रक नाङ्गो नाच देखेर भैँसी एकैछिन त आँय आँय गरेर कराइ त्यस पछी उ मुर्छा परी ।    मान्छे आफुलाइ एक थोपो रगत निकाल्न आँट आउँदैन । सियोले घोच्यो भने डाक्टरकहाँ गएर उपचार गराउनु पर्छ तर त्यै मान्छेले अरुलाई पनि त दुख्छ भन्ने कुरा सोच्न सक्दैन । के मान्छेले आफ्नो छोरा छोरी अरुले मारिदिएको सहन सक्छ त ? अब एउटा गम्भिर प्रश्न भगवानको अगाडि तेर्सिएको थियो के मानिस साच्चै संसारको सबै भन्दा बुद्धिमान र सब्य प्राणी हो त ?

  दशै पछी टिकाराम फेरी बिदेस गयो । अरु पनि आ आफ्नो काममा ब्यस्त हुन थाले । जाडो महिनाको एक दिन खिमबहादुर नयाँ लुगा लगाएर कतै जान आँटेको थियो , उसले स्वास्निलाइ कोट ल्याइदिन अह्रायो । स्वास्निले कोट ल्याएर लगाइदिएई र कहाँ जान लाग्नुभएको भनेर सोधी । 'सदरमुकाममा दलित संघको कार्यक्रम छ' खिमबहादुरले जवाफ दियो । 'बाहुन छेत्रीहरुले हाम्लाई हेपे , एक्काइसौँ शताब्दिमा पनि यो देशमा छुवाछुत हटेको छैन , हाम्ले छोएको पानी चल्दैन, हाम्लाई कोठा भाडामा दिदैनन , के हाम्लाई काट्दा रगत रातो आउँदैन ? के हाम्लाई दुख्दैन ? हाम्ले फेर्ने सास र उनिहरुले फेर्ने सास फरक छ ? यो अन्याय सहन हुँदैन संघर्स गर्नुपर्छ ।' खिमबहादुरले एकै सासमा भन्यो । गोठमा बाँधिराखेको उसको कुरा सुनेर जोडले करायो । 'ए मान्छे हामी जनावरलाई काट्दा पनि त रगत रातो आउँछ , तिमीहरुले अत्याचार गर्दा हाम्लाई पनि दुख्छ , हाम्ले फेर्ने सास पनि तिमीहरुले फेर्ने जस्तै छ र अन्तिम कुरा तिमी मानिसहरुलाई अाफ्ना आफन्त मर्दा जती पिडा हुन्छ हामी जनावरहरुलाई पनि तिमीहरुले हाम्रो आफन्त मारिदिदा त्यतिनै पिडा हुन्छ , साच्चै छातीमा हात राखेर सोच त तिमीहरुले हामी जनवरलाई कती अत्याचार गरेका छौ ? हामीले यो कहिले सम्म सहनु पर्ने ?' भैँसीको आवाजमा यस्तै कुराहरु थिए तर खिमबहादुर पनि एउटा अहंकारले ओतप्रोत मानिसको प्रतिनिधि पात्र न थियो । उसले भैँसी आयँ आयँ गरेको मात्र बुझ्यो उसको पुकार बुझेन ।    





Sunday, July 12, 2015

अर्को दृष्‍टिभ्रम

अर्को दृष्‍टिभ्रम (शार्दूलवीक्रीडित) 

अौशी रात भयो तिमी जब गयौ तारा उदाए पनि ।
आशा लाग्छ अझै म लक्ष चिनुला बाटो बिराए पनि ।।
चाहाना यदि पुग्दथे  सब भने को रुन्छ होला यहाँ ?
तिम्रो तस्विर लेखिएछ मनमा जाउँ र मेटौँ कहाँ ।। १ ।।

प्यारो किन्चित कोपिला कुसुमको काँडा बन्यो के कतै ?
रश्मी रक्तिम ललिमा क्षितिजको अस्ताउदै थ्यो यतै ।।
खोला होइन प्रेम बग्न सजिलै वर्षातको भेल झै ।
पासा हो कि जुवा जित्यौ अनी उठ्यौ भो तासको खेल झै ।। २ ।।

त्यो उद्यान सुरम्य पुष्पहरुको वेली चमेली तथा ।
चम्पा मख्मलि मालती द्रुम अहा छन् पल्लवीका लता ।।
तिम्रो केश समान लाग्छ किन हो राम्रो बगैँचा पनि ।
यैं दृष्‍टिभ्रममा खुशी छु म सधैं झन्डै म पागल बनी ।। ३ ।।

फक्रेको प्रतिभा अनन्त लयमा काव्या तिमी मंजरी ।
काया लुप्त प्रदीप्त ज्योति नहुँदा छाया रह्यो मन् भरी ।।
त्यैँ छाया पनि टाढिदै छ किन हो बुझ्दैन केही पनि ।
यात्रा यो कतिसम्म चल्दछ यहाँँ एक्लो नितान्तै बनी ?? ४ ??


असार २०७२, रातोपुल काठमाण्डौ 





Saturday, April 18, 2015

अकण्टक भावना

अकण्टक भावना ( शिखरिणी )

विशेष आभार :-  [ प्रान्जल प्रेम @pranjalprem र कमल शर्मा @InnocentIdiot_ ]

झुलेका जौ जस्तै लहलह अहा केश शिरको । 
छ है ध्यानै तान्ने नभ घनघटा लेक तिरको  ।।
हर्यौ निद्रा मेरो चयन मनको शान्ति सजिलै । 
कहाँ भेट्ने होला मन अधिर भो आज अति नै ।। १ ।।
                                                                                    

म तड्पिन्छु तिम्रो खबर जब मिल्दैन दिनमा । 
डुबेँ क्या हो ज्यादै अतुल गहिरो प्रेम रिणमा ।। 
कठै सोच्दा सोच्दै टिलपिल हुदोरैछ नयन । 
म मात्रै पो हो या विचलित तिमी छौ अब भन ।। २ ।।

अहा अंगालोमा उनिरहुँ अझै लाग्छ कहिले । 
र देख्दा सारीमा बनुबनु म सप्को कि अहिले ।।
जसै झोला भिर्छौ म बनु कि फिता टाँसिन त्यहीँ ।
तिमी हिड्दा तिम्रो छम छम बनु पाउजु कहीँ ।। ३ ।।

तिमी प्रज्ञा आभा  बनिरहु सधैं यैँ वरिपरी । 
तिमी आस्था मेरी ढलमल नहोस् जीवनभरी ।। 
तिमी हौ धर्तीमा प्रणय रसकी चारु सुमना  । 
तिमी नै हौ मेरी मधुर लयकी काव्य रचना ।। ४  ।।  


२०७१ बैशाख , सिन्धुली 




Saturday, January 24, 2015

बितेको जवानी

बितेको जवानी ( उपजाती छन्द )
यो लाज मात्रै किन मान्दछौ हे,
ब्यर्थै तिमी लाज नमान जैले ।
टाढा हुँदै छौ नमानी नमानी,
फर्कन्न कान्छी बितेको जवानी ।१।

संगै घुमेको वन खेतबारी,
कान्ला र बेशी नदी वारिपारी ।
सानो म थेँ थ्यौ तिमी सानिसानी,
फर्कन्न कान्छी बितेको जवानी ।२।



हर्लक्क बढ्दा अझ सुन्दरी भै,
फक्रक्क बेली र चमेली फूल्झै ।
यो बैस राम्रो सुनौलो बिहानी,
फर्कन्न कान्छी बितेको जवानी ।३।
मन्मा लुकेको छ अत्रिप्त प्यास,
छिप्दैन फूल्मा बढेको सुबाश ।
यो ज्यान तिम्रै तिमी मन्की रानी,
फर्कन्न कान्छी बितेको जवानी ।४।
खोलेर मन्का सब तिर्सना ती,
पूरा गरौँ आज हुँदैन भोली ।
के लाज मान्छौ सबै जानिजानी,
फर्कन्न कान्छी बितेको जवानी ।५।
आँखा नशापूर्ण छ ओठ् गुलाबी,
उन्माद छिट्टै भइहाल्छ हाबी ।
त्यो काख प्यारो मजाको सिरानी,
फर्कन्न कान्छी बितेको जवानी ।६।
मन्मा कुनै धुक्चुक राख्न हुन्न,
साँच्चै सिपालु तिमी प्रेम उन्न ।
खोला बगी जान्छ फिर्दैन पानी,
फर्कन्न कान्छी बितेको जवानी ।७।
आँखा जुधाई पर बस्न खोज्दा,
नाना थरिका डर त्रास  सोच्दा ।
आधा अपूरो भयो प्रेम् कहानी,
फर्कन्न कान्छी बितेको जवानी ।८।
आजै त हो जे मन लागि गर्ने,
आउन्न भोली नयाँ रंग भर्ने ।
यो ज्यान हाम्रो हुनेहो खरानी,
फर्कन्न कान्छी बितेको जवानी ।९।

२०७० फाल्गुन १४, सिन्धुली  



Wednesday, January 21, 2015

Dear I Will Not See You There

Though not happy enough, I am better with what I am.
Dreams seldom match with life's actual form.
And,
Imagination usually exceeds reality ~ break-fail thoughts,
Sadly, sometimes,
Thunder strikes on the innocent buds.
Fantasy of one's heart, beyond this cosmos.
An entire size of dreams lost thus,
fret and fuss.
Elegant fairy; quite surroundings; lustful far or near.
When I get up tomorrow ~ Dear I will not see you there ..

Special Thanks :- Kamal Sharma
https://twitter.com/InnocentIdiot_

2070/05/14 Sindhuli