Wednesday, April 29, 2020

आमा

छन्द : शिखरिणी + शार्दूलवीक्रीडित 

शयौँ पीडा झेल्दै हरतरहका संकट सही
कटे कैयौं बाधा प्रसव पलमा त्यो तनभरि ।
जली आफू प्यारो शिशुकन बचाएर सहसा
सदा पूज्या माता अतिशय महत्ता मन अहा ।१।

छ आमाको गाथा न त कथनले सक्छु म रति
"कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।"
नपुग्ने भो कापी अनि कलमले वर्णन गरी
कतै छैनन् आमासरि सुख दिने यो जगभरि ।२।

सबै धर्ती हेरेँ वरपर म संसार भरमा
न आमा जत्तिको सहन सकने क्वै छ जगमा ।
नसाटेरै मिल्ने न त अरु भए स्थान पुगने
अहा आमा शब्दै सुमधुर छ मीठो रस हुने ।३।

सबैभन्दा प्यारो जगत भरमा हुन्छ जननी
बिना आमा काहीँ पनि जगतमा सृष्टि नहुनी ।
मनै हो आमाको करुणरस जैले भरि हुने
सदा चिन्ता प्यारा शिशुहरु बनून् मा अडिदिने ।४।

आमाको ममता अपार सजिलै पाइन्न काहीँ पनि
आमाको महिमा छ उच्च यशसा सर्वोच्चतामा अनि ।
आमाको तुलना कदापि अरु झै बन्दैन बह्माण्डमा
आमा ढोग हँसाउ चित्त उनको ~ यात्रा सबै धाममा ।५।

जन्माई नवचेतना भरिदिने कस्तो छ है सिर्जना
आफ्नै प्राण भरेर सन्तति सबै हुर्काउने चाहना ।
हो मातृत्व महान विश्वभरमा वात्सल्य झन् सुन्दर
आमा धन्य अपूर्व शुद्ध रचना यो सृष्टि झैं के छ र ।६।

आमा बन्नु छ कष्ट ती प्रसवका पीडा कयौँ बिर्सिई
आफ्नो रोदन बिर्सदै नवपिढी सन्तान चिन्ता लिई ।
मायामा समता सबैमा ममता सन्तानका खातिर
पीडा प्यास र रोग भोक नभनी सन्तानकै हो पिर ।७।

यो नारीत्व अपूर्ण हुन्छ यसमा मातृत्व छैनन् भने
नारीको सुखसार भन्नु सब यैँ मातृत्वमा हुन्छ रे ।
आमाकै सब देन हो जगतमा उत्कृष्ट यो जिन्दगी
बिग्रेमा मन भड्किएर म कतै पुत्रत्व यो जान्छ कि ? ८?

लेखी लेख्न सकिन्न गानगुण यी आमा र मातृत्वका
हाम्रो जीवनका प्रगाढ रस यी सन्तोष आनन्दका ।
चिन्ता छन् मनमा खुशी तर सदा देखिन्न चिन्ता अनि
यो सन्तोष समान छैन अरु क्यै ब्रह्माण्ड भर्मा पनि । ९।

माताको ममता समान रस यो पाइन्न धर्तीभरि 
ठूलो त्याग निस्वार्थ भाव शिशुका संताप सारा हरी ।
चिन्ता केवल सन्तती अघि बढून् बैरी सबै नष्ट भै
बाटोमा पदठेस सुन्नु नपरोस् सर्वोन्नती होस् सधै ।१०।

आमा काख समान आशन सुनै गद्दी कहाँ पो छ र
आमा गास कपास बास शिशुको सम्पूर्णताको घर ।
खानी हो ममता र स्नेहहरुको निस्वार्थ सर्वोपरी
आमाका गुण यी सकिन्न कहिलै लेखेर वर्णन् गरी । ११।

२०६५-११-१८ कलंकी काठमाण्डौ 

Tuesday, April 28, 2020

श्रद्धाञ्जली


श्रद्धाञ्जली ( शार्दूलवीक्रीडित )

आँखामा जल बर्सियो जब सुने छैनौ तिमी विश्वमा,
रोकी रोक्न सकेन आँशु मनले निश्चिन्त रोऊँ कहाँ ?
यात्रा टुट्न गयो बिचैतिर हरे छोडेर भाग्यौ जब,
तिम्रो साथ कमी हुनेछ र सधै सम्झिरहन्छौँ सब ।१।

पत्यारै मनमा रहेन भ्रम झैँ यो नै तितो सत्य हो,
मैले मान्न तयार छैन तर हा रोएर टर्दैन यो ।। 
यौटा जीवन टुंगियो यति छिटै यात्रा यहीँसम्म भो,
छोटो भेट रहेछ जानु सबले पर्ने अवश्यै छ जो ।२।

तिम्रो चित्त दुखाउने यदि कुरा स्वार्थी गरेको भए,
माफी बक्सनु है बुझेनछ भनी ठट्टा थियो सम्झिए ।
तिम्रो मात्र छ तिर्सना वरिपरी झल्को उहीँ झल्झली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।३।

बाटो एक छ पाइला अघिपछि गन्तव्य त्यैँ आखिर ,
चाहेरै पनि बस्नु छैन जगमा संसार हो अस्थिर ।
राम्रो सुन्दर त्यो प्रभात जसरी रित्तिन्छ आभा ढली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धान्जली ।४।

तिम्रो देह त छैन याद छ उही बाँकी यहाँ छैन क्यै,
यो शालीन अदृश्य साथ अबको पक्कै म भुल्दैन है ।
मेरै आँगनमा म रोप्दछु छिटै फूल्नू बनी मख्मली,
आत्मा शान्त रहोस् रहे पनि जहाँ यै शोक श्रद्धाञ्जली ।५।


२०६९-०१-०७, लाजिम्पाट काठमाण्डौ




गजल

गजल  ( बहर : हजज्, छन्द : पञ्चचामर)

कतै अनेक रङ्गसङ्ग मस्त हुन्छ जिन्दगी ।
कतै त भोकप्यास मेट्न व्यस्त हुन्छ जिन्दगी ।।

सधै बिहान सूर्य झैं उदाइहाल्छ यो भन्यौ,
उसै गरेर साँझ पर्छ, अस्त हुन्छ जिन्दगी ।।

असार भेल उर्लिदा त भेल झै छ बैंस यो,
जसै खडेरि पर्दछन् तटस्थ हुन्छ जिन्दगी ।।

छ स्वप्न झै मधूर किन्तु भ्रममै अडीरहे,
खुल्यो भने न दिव्यदृष्टि प्रष्ट हुन्छ जिन्दगी ।।

सधै सधै अगाडि बढ्न दाउपेच होडमा,
फसेर स्वार्थमा सदैव नष्ट हुन्छ जिन्दगी ।।


२०६८-०३-१६ लाजिम्पाट , काठमाण्डौ



Sunday, September 1, 2019

गजल


मन नरम भयो भने हुरीले नि डराइदिन्छ ।
कहिलेकाहीँ उसको चुरिफुरीले नि डराइदिन्छ ।।

धेरै टाढा होइन तर पहाड थियो हामीबीच,
जब बढ्न थाल्छ छोटो दुरीले नि डराइदिन्छ ।

विश्वासका बोलीहरु घात बने कयौंचोटि,
कशमका शब्दरुपी छुरीले नि डराइदिन्छ ।

सम्बन्धको धरातल कमजोर बन्छ जब,
किनकिन आफ्नै घरको धुरीले नि डराइदिन्छ ।




मुटु छेड्ने माया "राधा" रहर कि वाद्यता हो ?
नबजाऊ न कृष्ण त्यो बाँसुरीले नि डराइदिन्छ ।।

Tuesday, August 27, 2019

गजल

गजल....

यता सिंहदरबारभन्दा मेरो गाउँ आत्मनिर्भर देखिन्छ ।
उता तिम्रो घरको छतैबाट परजीवी शहर देखिन्छ ।।

क्याफे, पार्लर र बारहरु शहरका चौतारी न हुन्,
हाम्रो गाउँको चौतारीमा पिपल र वर देखिन्छ ।।

गाउँको दृश्यले खुशी दिन्छ या दु:ख म भन्न सक्दिन,
आँसु खस्छ जब टालेको भित्तामाथि पुरानो खर देखिन्छ ।।

बुझाइ आ-आफ्नो, कोही माया भन्छन् कोही बैँशको आबेग,
तिमी के भन्छ्यौ ? फक्रदै गरेको कोपिलामा भ्रमर देखिन्छ ।।

प्यास साइली माइलीका फरियाको पनि उस्तै हो,
शहरमा अर्धनग्न शरीरको प्यासी अधर देखिन्छ ।।

भक्तपुर, २०७६ साउन

Saturday, May 4, 2019

अनुभुति शहरमा

( छन्द : शिखरिणी)

भुली प्यारो माटो शहर बिचमा अल्मल परेँ,
सधै खोक्रो आडम्बर रिस र पापी मन गरेँ !!
उछिन्ने धन्धामा झन - झन पछाडी परिरहेँ,
सके खुट्टा तान्ने प्रवृतिहरुमा चै अघि भएँ !!

जता हेर्‍यो पैसा नजर नजिकै नाच्दछ सधै,
समात्ने चाहाले हृदयहिन हुँदैछु म अझै !
म फोहोरी खाल्डो छिचलन नसक्ने अब भएँ
सबै आफ्ना छाडी परपर म एक्लै हुन गएँ !!



हरे बिग्र्यो भन्दै दुख पिर र चिन्ता लिई कठै,
म जन्मेको माटो हरदिन सराप्दै छ कि कतै !!
सबै बिर्सेँ संस्कार चलन थिए कर्म कुलका,
पिछा गर्दै हिंड्दा विकृत विष विभ्रान्त हुलका !!

अध्यारोमा बज्रेँ शहर झलमल्लै त छ तर ,
न सन्तुष्टी पाएँ अनुभव कहाँ सुन्दर छ र !!
म बाटो बिर्सेको पथिकसरि दिग्भ्रमित भएँ ,
निकै टाढा लम्क्यो समय म सधै अन्तिम रहेँ !!

मलाई ती बस्ती रुख चउर पाखा वनहरु,
सधै सम्झिदा हुन् वरपर चिनेका जनहरु !!
कसो गर्ने निद्रा पनि सहज लाग्दैन किन हो ,
म तड्पेको तड्प्यै हरपल खुशी भो शहर यो !!


टि. यु. जङ्गल, किर्तिपुर २०६७




Tuesday, March 12, 2019

आफ्नै टाइमलाइनबाट साथीको पोष्ट


E-swoor Voojeel 

विहानीको चिसो मौसम निद्रा भर्खर
खुलेको थियो घडि हेरे विहानको ५ बजेको रहेछ
। विहान उठेर थेसिस क्लासमा जानु थियो।
माबाईलको घण्टि बज्यो यसो हेरे
फोन विनोदको थियो ईश्वर हामी घुम्न जाने
भनेका थियौ नि ?
अँ मैले भने,

हो तिमले भनेको ठाउँमा नै जाने निर्णय
गरेका छौ र अनि सुन त ?
अँ भन न मैले भने
चैत्र सेकेण्ड वीक जाने निर्णय भएको र
यसको लागि अफिसमा विदा पनि लिईसकेको जनायो,,र
उस्ले बाँकि कुरा आज कलेजमा नै भेटेर भन्छु
भन्यो र फोन काटिदियो
म अन्यौलमा परे .....
साथीहरुले सिन्धुली होईन बरु मनकामना,
चिसापानी अन्त कतै जाउँ न भन्ने प्रस्ताब
गरेका थिए
मेरै लिडे ढिपिका कारण उनीहरु सिन्धुली जाने
निर्णमा पुगेका थिए ।
मेरो सोच थियो सिन्धुली जाउँला र
महिनौ देखि भेट्न नपाएको आपनो प्रेमिकालाइ
पनि भेट गरौला....
उता सरकारी सेवामा कार्यरत हाम्रा आत्मीय
मित्र सबिन
सिन्धुलीको रानीबासमा पर्खिरहेको छ
भन्दै थियो आओ न यार तिमिहरुको लागि म
दूईदिनको बिदा लिउँला र घुमौला भनिराको छ
तर आज म आफै सिन्धुली नगइ अन्त जान पाए
पनि हुन्थ्यो भन्ने सोच आएको छ
उता सिन्धुलीमा रहेकि प्रेमिका बर्षा सँग प्रेम
टुटेको पनि बरिब एक हप्ता भई सकेको थियो
प्रेममा परेको कुरा सबिनलाई बाहेक अरुलाई
भनेको पनि थिईन अरु सबै साथीहरुलाई सरप्राईज
दिउँला भन्ने सोच बनाएर नै सिन्धुली घुम्न जाने
योजना बनाएको थिए ।
तर यि सब अब बेकार छ एक
हप्ता भो उनी सँगको सम्पर्क विच्छेद भएको.......
सयौ पटक फोन गरे म्यासेज पठाएँ तर
एउटा पनि रिप्लाई भएन हजार कोशिश
गर्दा पनि.... खासै
केहि गल्ति पनि गरको जस्तो लाग्दैन
बिना कारण किन उनी म बाट टाढा हुन
चाहिन... मैले केहि बुझन सकिन......
तर पनि केहि छैन मेरो साथी सबिनलाई
भेटनको लागि भए पनि मैले साथीहरु संग जाने
निर्णय गरे ।
उ संग भेट नभाको पनि एक barsha भै
सकेको थियो । हाम्रो भेट
नारायणहिटि दरबारमा भएको थियो ।
जुन समय उ दौडिरहेको थियो असिन पसिन
अनुहार बोकेर.......
तर एउटै कुरा मनमा अड्किरह्यो
उनी टाढिनुको कारण के हो ?
बिना उत्तर म धेरै बेर रुमल्लीरहे
यसो घडि हेरे विहानको ७ बजिसकेछ
ला आजको मेरो थेसिस क्लास म झसंग भए...।



Sunday, September 23, 2018

प्यारी रिसाएपछि

"प्यारी रिसाएपछि" (छन्द:- शार्दूलवीक्रीडित)

कालो बादल अँठ्ठियो मनभरी आकाश नीलो तर ।
मै आफू पनि बन्न सक्छु कसरी - आफै मभन्दा पर ??
मानौँ ढाक्दछ राहुले गगनमा सौर्न्दर्य छर्ने शशि ।
खै के को तुलना गरोस् र कविले प्यारी रिसाएपछि ।।

घुर्कीयुक्त कटाक्ष हान्छ उनको म्यासेजमा स्माइली ।
धन्यै हो प्रविधी छ मख्ख दुनियाँ संजालसंगै भुली ।।
यो सोझो किन अल्झियो प्रणयमा सोच्दैछु टुप्पी कसी ।
चिन्ता एक उपाय के छ अबको प्यारी रिसाएपछि ।।

को होला घरमा कदापि प्रियसी झर्कन्न भन्नेहरु ?
ज्ञानी छिन् सब बुझ्दछिन् रिस सधै अव्यक्त राख्छिन् बरु ।।
यो नारी अधिकार हो प्रकृतिको चुट्दैन जस्को रसी ।
के के को उपमा दिऊँ म विचरा प्यारी रिसाएपछि ।।
😂😃😂

भक्तपुर, २०७५ आश्विन