Tuesday, April 28, 2020

गजल

गजल  ( बहर : हजज्, छन्द : पञ्चचामर)

कतै अनेक रङ्गसङ्ग मस्त हुन्छ जिन्दगी ।
कतै त भोकप्यास मेट्न व्यस्त हुन्छ जिन्दगी ।।

सधै बिहान सूर्य झैं उदाइहाल्छ यो भन्यौ,
उसै गरेर साँझ पर्छ, अस्त हुन्छ जिन्दगी ।।

असार भेल उर्लिदा त भेल झै छ बैंस यो,
जसै खडेरि पर्दछन् तटस्थ हुन्छ जिन्दगी ।।

छ स्वप्न झै मधूर किन्तु भ्रममै अडीरहे,
खुल्यो भने न दिव्यदृष्टि प्रष्ट हुन्छ जिन्दगी ।।

सधै सधै अगाडि बढ्न दाउपेच होडमा,
फसेर स्वार्थमा सदैव नष्ट हुन्छ जिन्दगी ।।


२०६८-०३-१६ लाजिम्पाट , काठमाण्डौ