रुन्छ कविता (शिखरिणी छन्दमा)
सँगालेका सारा अनुभव चुहिन्छन् जब जब
कसो गर्ने भन्दै मन-मगज घुल्छन् विष तब ।
छ मानौँ अैाँशीको ग्रहण पटमा लुप्त सविता
तिमी हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
कठै पैसा रोज्दै मृत रहर बेच्दै किन किन
डुलेका देखिन्छन् शहरतिर कोही प्रतिदिन ।
बजारीया गल्ली वरपर चलेकै छ रमिता
म हाँसे पो हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
निराशामा आशा जलन बनी दन्क्यो दनदनी
विदेशी माटोमा मथिँगल घुमेको फनफनी ।
भएका छन् टाढा समय गतिले पुत्र र पिता
मुमाका आँखा ती टिलपिल हुँदा रुन्छ कविता ।।
…………
मसी झैँ आँखाका जल पनि बगे यी हरफमा ।
मुना के फ्रक्रन्थ्यो नवकुसुमका शुष्क फलमा ।
सुजा श्रेया सन्ध्या सुमन सुनिता खिन्न समिता
यिनै हाँस्दा हाँस्थ्यो टिलपिल हुँदा रुन्छ कविता ।।
…………
सिन्धुली, २०७२