प्रगति
झनन्न रिस उठ्यो , पहिलै गासमा ढुङ्गा लाएपछि ,
म अरुसङ्ग पनि थुप्रैचोटि रिसाएको छु । खानामा ढुङ्गा बिया भेटिनु मेरोलागि पटक्कै मन नपर्ने कुरा हो ।
यस पालीको चामल त झन राम्रो भनेर महङ्गो ल्याएको हो ।
किन सरकारले उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षप्रति ध्यान दिदैन ?
खाद्यान्नजस्तो आधारभूत कुरामा गुणस्तरहीनता र मिसावट हुदै गर्दा थुप्रै सर्वसाधारण
रोग र कुपोषणजस्ता कुराहरुबाट पिल्सिरहेका छन् । खोई त हाम्रो सरकार त्यसमा जिम्मेवार बनेको?
"तट् यो बाइक कामै नदिने भैसक्यो" , छिमेकी रामु दाइ पाँच मिनेटसम्म सेल्फ स्टार्ट र किक हान्दा हत्तु भएपछि कुर्लनु भयो ।
डेढ दुई लाख खर्च गरेर बाइक किन्नु , बार्षिक कर तिर्नु , छ महिना नहुदै बिग्रने ! पेट्रोल हो कि मट्टितेल हो छुट्याउन नसकिने , त्यही पनि
कालो बजारमा महंगो तिरेर किन्नुपर्ने। के भा को हो हाम्रो देशमा ?? जवाफ त मसित पनि थिएन चुप लागिरहेँ ।
"चौध दिन भैसक्यो धारामा पानी न आको के ले नुहाउने त ? " रित्तो ड्रम ठटाउदै तारा दाइ चिच्चाउनु भयो , घरवेटी आन्टी रित्तो भाँडो हेर्दै मौन रहेर हास्नु भो । समस्या मेरो पनि त्यस्तै हो । आठ दिन भैसक्यो ननुहाएको, लुगा नधोएको त दुई हप्ताभन्दा बढी भयो होला।
टन्न खान त नपुग्ने पानी के कपडा धोइरहनु र ! म गाउमा खेर गैरहेको पानी सम्झेर राजधानिमा त्रिप्त हुनुपर्ने बाद्यता छ।
यस्तो समस्या सबै शहरमा लाखौ जनाको छ । कसले ध्यान दिने त्यतातर्फ । बिचरा मेलम्ची !!
धत्तेरी यो फोन ! एघार हजारको मोबाइल बिस्तरामा बजार्दै दामोदर कड्कियो एक घण्टासम्म फोन नलागेपछि रिस उठ्नु स्वभाविकै हो। जागिर हट्नसक्ने तिव्र संभावना सम्झेर सधै हसाउने दामु मसित बोल्दा पनि बोलेन । हतार हतार दौडियो अफिसतिर ।
बिचरा फोनकै कारणबाट मनग्गे गाली पाएको छ उसले ~ साहुको , ग्राहकको र कहिलेकाही त अपरिच्त केटीको पनि ।
यता हानेको फोन उता उठ्छ । बोल्दाबोल्दै काटिन्छ , त्यसपछि आधाघण्टा सम्पर्क हुन सक्दैन ।
के कुरा गर्नु टेलिकमको , मलाई पनि रिस उठेर आउछ। एकजना सरले त मोबाइल बोक्न छोडिदिनु भो।
ओ हो !! फेरी लोडशेडिङ !! किताब थन्क्याएर कमल दाइ बत्ती बाल्न जानुभयो।
दुई दिनपछिको एसेसमेण्ट , ठूला किताबका ठेली र लोडशेडिङ । कमल दाइको पारो तातेर आएछ क्यारे।
भाइ अर्जुनले अनाहकमा ठूलै हप्की सहन बाद्य भए। लाइटमा पनि खासै चार्ज हुन पाएनछ दश मिनेट नहुदै धमिलो भयो।
कमल दाइ सुनेकै भरमा युरोपतिरका कुरा भत्भताउन थाल्नु भयो। एम् एस्सि सकाएपछि त्यतै हानिने बिचार ब्यक्त गर्नु भयो।
"हैन केटा हो , आजकल त छिटो छिटो धेरै धेरै पैसा माग्न थाल्यौ त ?" बाबासित पैसा मागिरहेको बेलामा छिमेकी अंकलले आफ्नो समेत कथा बताउने गरी मलाई संकेत गर्दै बताउनु भयो।
'डुबाउने भए दाइ' बाबाले पनि सहमति जनाउनु भयो।
हामीहरु उच्च शिक्षाका लागि शहर पसेपछि घरको खर्च पनि बढ्ने नै भयो।
गाउ घरमा शिक्षाको राम्रो ब्यबस्था नभएपछि कतिपय युवा युवतीहरु शहर पस्न बिवस भएका छन्।
बिशेष गरी मध्यम वर्गीय परिवारमा आर्थिक ब्याबहार समाल्न अत्यन्तै गाह्रो भएको छ।
बढ्दो आवस्यकता, तिव्र महंगी र पढाइपछिको बेरोजगारीको कारण परिवारले शिक्षा र स्वास्थ्यको समेत भार खेप्न नसक्ने स्थिती आएको छ ।
म आफैलाई दिक्क लाग्छ ~ देशका यी विविध समस्याहरु सम्झिदा ।समधान कसले गर्ने त?? धेरै युवा विदेशिन वाद्य छन्।
राजनैतिक अस्थिरता र प्रतिपक्षी ब्यावहारले देशको विकास गर्न सकिन्न । युवाहरु एकजुट नभएसम्म देशको मुहार फेरिन्न । यस्ता कुराहरु अरुलाई सुनाउन अति सजिला हुन्छन् तर ब्यावहारमा उतार्न उत्तिकै सकस । म भातमा ढुङ्गा भेटिदा रिसाउने मान्छे खेतमा दिनभर काम गर्न जान पटक्कै रहर जाग्दैन।
अचम्म हाम्रो संस्कार नै यस्तो कि अरुको आलोचना र टिप्पणि मात्र गर्ने आफू अघि नबढ्ने ।
भाँडा ठटाएर कुर्लने तारा दाइ पानीको मुहान सफा गर्न जाने वातावरण यहाँ बन्नै सकेन।
सबैको गति यस्तै हो। माओवाद र साम्यवाद बरवाद मा परिणत हुदै छन्। देशका रक्षक र भक्षकमा खासै अन्तर पाइ एको छैन यहाँ । सर्दार र भार्दारहरु मुर्दारप्राय: छन्।
घरबार बिग्रिएपछि पाटीमार्फत दरबारमा पुग्नेहरु पनि प्रयाप्त छन्।
सायद नयाँ नेपालको प्रगति यहीँ होला ~ म कसैलाई केही भन्न चाहन्न। सबै आफैमा परिपक्व र सर्वज्ञ , अस्तु !!!!
२०६५/१०/२३ काठमाण्डौ




