Tuesday, May 1, 2012

भूल


भूल


ज्योती साँच्चै मलाई प्रकाशको ज्योती झै लाग्ने गर्दछे!
मैले उसलाई पहिलोपल्ट देखेको अझै एक हप्ता पनि पूरा भएको छैन होला तर ऊसङ्ग यति सुपरिचित भएँ कि उसको मनमै बसेको छु तर त्यो भन्दा बढ्ता मेरो मनमा छे
पहिलोपटक उसलाई कालीगण्डकीमा पौडिन लाग्दा देखेको हुँ, त्यसबेला पनि पौडी खेल्नकै लागि खोलामा गएको थिएँ। हामी माथि पौडी खेल्दै गर्दा केही तल पनि आफ्ना साथीहरु सित पौडि खेल्दै थीई। त्यसपछि किन हो मलाई तलतिर जान मन लाग्यो साथीहरुलाई त्यही छाडी केही पनि नभनी खोलाको भेलसङ्गै पनि तल गएँ। मलाई देख्दा उसको मन पनि मतिरै आएजस्तो लाग्यो। मेरो नजिकै पौडी खेल्न थाली निशंकोच निडर !!
मैले सामान्य रुपले सोधेँ " पनि त्यहाँ आउन सक्छु कि ??" उसले पुलुक्क मलाई हेरेर भनी " पौडिन आउछ भने सक्नुहुन्छ " अब मलाई बाटो खुले झै भयो विचार गर्ने हेतुले त्यतैतिर लागेँ त्यो माथिको रह भन्दा पनि सानो रहेछ सजिलै त्यहाँ पुगेँ करिब आधा घण्टा हामीबिच धेरै कुराकानी भए मलाई त्यही नै था भयो कि उसको नाम ज्योती हो ।।
मलाई त्यसबेला पढाइको बोझ पटक्कै थिएन राम्ररी कक्षा बाह्रको परीक्षा दिएकोले एक प्रकारले स्वतन्त्र नै थिएँ मात्र समय सदुपयोग गर्नको लागि संस्क्र् भाषा पढ्ने गर्थेँ। त्यसपछिका प्राय: दिनहरुमा खोलामा ज्योतीसित भेट हुन थाल्यो। मेरा थुपै साथीहरुले उसलाई देखे, कतिले खासै राम्री होइन पनि भने तर मलाई उसको रुपप्रति कुनै वास्ता थिएन भित्रै बाट उप्रति एउटा अनुराग थियो,प्रेम थियो ।ऊ पनि मलाई निकै आत्मीय अनुराग देखाउथी । ऊ आफ्नो स्कुलको बर्षे बिदामा त्यहा मामाघर आएकि थिई सधैको लागि थिइन। लाग्थ्यो ऊसंग सधै खोलामै बस्न पाए पनि म प्रशन्न नै रहनेछु।
एकदिन खोलामा हामीहरुले फोटो खिच्दा उसका पनि दुईटा फोटा खिचिदिएँ। उसले मसंग भनिथी "यौटा मलाई दिनुहोला, अर्को चै हजुरले नै राख्नु होला।" मैले हाँस्दै जवाफ दिएथेँ ' तिमीलाई त म मुटुमै राख्छु नि फोटोमा होर !' "कतिदिन रहेछ हेर्छु म पनि" उसले भावुक हुदै भनिथी। ‘For ever,सधैको लागि भगवान कशम’ मैले केही नसोची फ्याट्टै बोलेँ।
एकदिन मैले उसको घाँटिमा + आकारको माला देखेर सो बारे प्रश्न गर्दा उसले अब कहिल्यै नबुझिकन यस्तो माला नलगाउने भन्दै त्यो माला झिकिथी। साँच्चि त्यो बेला ऊ काली गण्डकीको जल झै पवित्र लागिथी मलाई । स्वच्छ, निर्मल र कन्चन ।
यस्तै यस्तै हरेक भेटका नया घटनाहरुसंगै केही दिन बिते। समय आफ्नै गतिमा बित्तै गयो। भावुकतामा झनै रमाउन थालेँ मन मस्तिष्कमा ज्योती छाउथी। देश शान्तितर्फ उन्मुख भै रमाइलो खुशियाली बढ्दै थियो भने झनै प्राक्रितिक एकान्तहरुमा बसेर सोच्न मन पराउथेँ।
यस्तैमा एकदिन हामीहरु सधैको ठाउमा पौडी खेल्दै थियौँ। केहीबेरपछि ज्योती पनि आई। त्यो दिन उसंग अरु तीन चार जना केटीहरु पनि थिए। आफ्नो मनको कुरा त्यहाँ खोल्न उचित ठानिन। उनीहरु पनि आपसमा ठट्टा गर्दै थिए। मलाई पनि पौडिनुमा बढी आनन्द आएकोले बोल्न भन्दा भेलमा लहरिनमै मस्त थिएँ, यद्यपि उनीहरुको कुरा सुनिरहेको थिएँ। कुराकै प्रसंगमा एउटिले भनी " ज्योती शुशिललाई भेट अरे " त्यो कुराले ज्योती केही रिसाएझै गरी। उसका र मेरा आँखा जुधे। बोल्ने केटीले अझै थपी "शुशिलले के भन्थ्यो था छ ?" मैले सोधेँ 'किन के भन्थ्यो र ?' ऊ बोली 'आइ लभ ज्योती भन्थ्यो, यौटा गिफ्ट पनि देको छ।' ज्योती त्यो कुराले रिसाई तर मलाई चिसो गडे झै लाग्यो अनि पौडिन पनि मन लागेन।
त्यसको पर्सिपल्ट म अन्य साथीहरुसंग मज्जाले पौडिदै थिएँ ऊ पनि करिब साढे एक बजेतिर आई। आज मलाई ऊसंग थुप्रै कुरा गर्नु थियो। समय पनि अनुकुलै थियो। मलाई शुशिलको बारेमा पनि कुरा गर्नु थियो। मैले आफ्ना कुराहरु राखेँ। उसको पनि प्राय सहमती थियो। तर ऊ छिटै मबाट टाढिदैछे। मैले यति छिटै उसलाई आफ्नो मन सुम्पिसकेछु। ऊ भने अलि तटस्थ रही मसंग तेती खुलेर बोलिन। उसको भनाइ अनुसार ऊ अब भारततिर जान सक्छे रे। उसले मलाई झुलाउन खोजेजस्तै लाग्यो। मसंग त त्यसबेला मोबाइल थिएन तथापि उसको मोबाइल नम्बर मागेँ, उसले इमेल एड्रेस दिन्छु भनी। हुन त ऊ अली शहरीया थिई नै उसले प्रष्ट कुरा गरिन। कतिबेला एस् एल् सि को रिजल्टपछि भारतमा पढ्न जान्छु  भन्थिभने कतिबेला त्यै मामाघरमै बसेर पढ्न पनि सक्छु भन्थी, सायद ऊ आफै दोधारमा थिई होला। उसका साथीहरुको उपस्थितिले होला ऊ खुल्न नसकेको। अन्तत मैले आफ्नो इमेल ठेगाना दिदै भने मलाई तिम्रो फोन नम्बर वा इमेल चाहिएन, राम्ररी सोचेर एक महिनाभित्रमा मलाई तिम्रो अन्तिम निर्णय देउ मलाई आफ्नो भन्ने कि नभन्ने ।। म हिड्ने बेलामा पनि उसले आफ्नो फोटोको कुरा गर्दै थिई, मैले आफ्नो मुटुमा हातले देखाउदै यहाँ छौ तिमी भने ।
केही उदास मुडमा बिदाईका हात हल्लाउदै पछाडि नफर्किकनै खोलाबाट उकालो लागेँ, बिहान मात्रै निकै उत्साहले तीनचोटि सच्चाएर लेखेको प्रेमपत्र उसको यौटा फोटो साथीमार्फत उसको लागि छोडेर हिडिहालेँ, उसले पर्सी पनि आउनु भन्दै थिई तर अब त्यहाँ कदापि नजाने निर्णय गरेर उस्लाई अन्तिम पटक हेर्दै उसको आगामि जिवनमा सफलताको लागि भगवान ऋषिकेशवसंग प्रार्थना गर्दै त्यहाँबाट बिदा भएँ। उसका केही साथीहरु खासखुस गर्दै थिए मैले त्यता ध्यान दिइन। बसपार्क आएपछि साथीहरु बसको छतमा चढ्यौँ। साथिहरुले खोलातिर हेर्न उस्काउदै थिए तर मैले तत्काल आँखा आँपको बोटतिर लगाएर मन बहलाउने प्रयास गरेँ  किनभने मनमा उसको यौटा कुरा बिझेको थियो 'केही फाइदा छैन, इन्डिया जान सक्छु फोकटमा मामासंग झगडा पर्ला ' आफूबाट छुट्न लागेको व्यक्तिको बारेमा थप चिन्ता लिन चाहदैन थिएँ मलाई पुग्ने चोट पुगिसकेको थियो। थप चोट मेरा लागि असह्य हुन्थ्यो। यद्यपि अझै मेरो मनमा छे प्रकाशको ज्योती झै लागिरहने छे
समय क्रमश आफ्नो गतिमा अगाडि बढ्दै गयो। त्यसपछिका दिनहरुमा बर्षा ऋतुले आफ्नो आधिपत्य जमाउन थाल्यो गण्डकी पनि धमिलो र ठूलो बनेकोले हामीहरु पौडिन पनि जान छोड्यौँ पछिल्लो एक महिनामा ऊसंग एकचोटि मात्र भेट भो, ऊ मसंग बोल्न नचाहेजस्तो लाग्यो ऊ नदेखे झै गरेर अर्को पट्टिबाट गई। म उसको आँखामा मप्रति बिना कारण घ्रिणा बढेको देख्न थालेँ। म ऊबाट जिवनको प्रथम प्रेमपत्रको सकारात्मक अपेक्षा राखेको थिए, उसले जवाफ नै लेखिन। नलेखे पनि भन्न त सक्थी , त्यो पनि गरिन। त्यसपछि मैले पनि उसलाई भेट्ने मन गरिन। सायद उसले मलाई बिर्सिसकेकि होली…….
केही समयपछि मेरो कक्षा बाह्रको नतिजा पनि प्रकाशित भो, म सफल भएँ। केही दिनको घर सल्लाहपछि म उच्च शिक्षाको लागि राजधानी जाने भएँ। मसंगै मेरो मिल्ने साथी कमल पनि जाने भयो। बिहिबारको शुभ साइतमा हामिहरु काठमाण्डौतिर प्रस्थान गर्‍यौँ। नया परिवेश ठूलो शहर त्यसमा समायोजन हुन पनि केही समय त लाग्यो मलाई। मानिसले समय र परिस्थिति अनुरुप आफूलाई बदल्न सक्नु पर्दो रहेछ। यस्तैमा एकदिन क्याम्पसको स्वागत कार्यक्रममा मैले गजल वाचन गरेँ, अनि थुप्रै साथीहरु मसंग परिचित भए मैले छिटै नै धेरै साथीहरु बनाउन सफल भएँ। साथीहरुले क्याम्पसका हरेक कार्यक्रममा मलाई गजल भन्न लगाउथे र म भन्थेँ पनि। एकदिन म साथीसंग तरकारी किन्नको लागि कालीमाटी तरकारी बजारमा थिएँ। मेरो र साथीको स्वाद फरक भएकोले तरकारीको निम्ति छलफल हुदै थियो। त्यही बेलामा आश्चर्यबोधक रुपमा यौटा मसिनो आवाज आयो। म झसंग भएर पछाडि हेरेँ मेरो नाम बोलाइएकोले तर मैले चिन्ने कसैलाई पनि देखिन। नाम फेरि दोहोरियो अनि फेरि पछाडि फर्केर हेर्दा मात्र देखेँ यौटी सान्नानी हाँसिरहेको। ओहो ऊ शुशीला थी, उसंग पनि मs परिचित थिएँ। उसले कक्षा एघारमा पढ्थी काठमाण्डौमै दिदीसंग बसेर। र त्यहीँ थाहा भयो उसको कोठा पनि हाम्रो तिर नजिकै रहेछ। उसले मलाई गिज्याउअदै भनी। 'आजको डिनर हजुरको मा गर्नुपर्ला !" ‘आजको मात्रै किन, सधैको गर न' मैले भने। "सधैको गर्नलाई त बन्नुपर्छ नि आफ्नै मान्छे " हाँस्दै भनी उसले 'बन न त इच्छा भए !' ठाडो जवाफ दिएँ। "होलान् नि अरु नै " परेली मस्काउदै बोली। मलाई उसको हसिलो बानी त था थियो तर आज मुड अलि ठिक थिएन, मलाई उसको हसिलो बानिले पनि रिस उठ्यो। 'तिमीजस्तो हो र?' बोलिहालेँ। त्यतिन्जेल साथीले तर्कारी किनिसकेछ। 'भेट हुन पाएको छैन सधै झगडा गर्ने तिमी त’ भन्दै म छुट्टिएँ बाटोभरि जिस्कायो साथीले, झगडा गर्दा ठिक्क। त्यस पछिका दिनहरुमा शुशीला प्राय हाम्रो कोठामा आउथि, बिशेष गरी उसको बोर्ड परिक्षा आउन लागेकोले पढ्ने निहुमा। कमल क्याम्पस गैसकेको हुन्थ्यो। मेरो चाहि डे क्याम्पस हुनाले खाना बनाउने तर्खरमा हुन्थेँ। शुशीलाले मलाई सहयोग गर्थी। अझै भन्नुपर्दा उसले नै पकाउथी म गफ जुधाएर मात्र बस्थेँ। खाना बनाउन मलाई निकै अल्छि लाग्ने बानी, उसको आगमन ब्यक्त नगरे पनि म भित्रभित्रै निकै खुशी हुन्थेँ। मैले भन्थेँ 'जे होस्, अझै तीन महिना यहाँ खाना बनाउन सिक्यौ भने पर्फेक्ट हुन्छ्यौ।' उसले हास्दै भन्थी " म त आजै पर्फेक्ट नि, बरु हजुरलाई पनि पर्फेक्ट बनाउने भएँ ।"
एकदिन लौका काट्दा उसले हात काटिछ अनि रगत बग्न थाल्यो। मैले बेवास्तापूर्वक भनें ' त्यो ब्लडले यौटा लेटर लेखेर पठाउ सिओर सक्सेस हुन्छ। ऊ हात च्यापेर हाँसिरही। मैले यौटा ब्याण्डेड खोजेर बाँधिदिदै थिएँ टुप्लुक्क कमल आइपुग्यो आज क्याम्पसमा खासै पढाइ भएन भन्दै। शुशिलालाई उसले निकै गिज्यायो। यसै त गोरी मान्छे, ऊ निकै राती भई।
समयको चक्रसंगै शरद ऋतुको आगमन भयो। हिन्दूहरुको महान चाड दशैको आगमनले बेग्लै रौनक ल्याएको थियो। हामी पनि दशैको बिदामा घर फर्कने तयारीमा थियौँ। घर जानु अगाडि एकपटक साइबर गएर साथिहरुलाई शुभकामना दिनु पर्‍यो भनी म र कमल साइबरतिर लाग्यौँ। मेल नहेरेको पनि  महिनौ भएको थियो। मेरो इनबक्सको यौटा म्यासेजले झस्कायो। "सोरी फर लेट डिसिजन, आइ विल बि वेटिङ फर् यु इन् रिडी" मेल ज्योतीको थियो। साथीहरुलाई शुभकामना दिएर हामी फर्कियौँ। त्यसै दिन आएर शुशीलाले रिजर्भको माइक्रो बसमा संगै घर जान अनुरोध गरी, उसकि दिदी चाही अफिसमा ढीलो बिदा हुने भएकोले सप्तमीमा मात्र जाने रे। हामी भने घटस्थापनाकै दिनमा हिड्ने भैयो उसको जिद्दी अनुसार। मलाई शुशीलाको कुरा मानेकोले कमलले गर्नुसम्म बिल्ला गर्‍यो। मैले हाँसेर टार्नुको बिकल्प देखिन।  फर्कदा म र शुशीला यौटै सिटमा बस्यौँ लामो यात्राको क्रममा उसले मसंग प्रेम प्रस्ताव राखी। केहीछिन त म अक्क न बक्क भएँ। उसको भावुकताको अगाडि केही नचलेपछि ठीक छ राम्ररी सोच भन्न म बाद्य भएँ। लामो यात्रा बस आफ्नै गतिमा चल्यो। कमल पछिल्लो सिटमा मस्त निदाएको थियो। मैले पेपर पढ्दै थिएँ भने शुशीला एकोहोरो बोलिरहेकि थिई। रामनगरमा खाना खान गाडी रोकियो। मलाई रामनगरको खाना पटक्कै मन पर्दैन तर गाडि त्यही नै रोक्यो। कमल पनि ब्युझियो। हामी तिनै जनाले जबर्जस्ती खाना खाइयो। केहीबेरमै गाडि पुन: चल्न शुरु गर्‍यो। यसपटक पत्रिका कमलले लियो शुशिला मेरो छातिमा निदाउन थाली मभने चुइगम चपाउदै बाहीरी द्रिश्य हेर्नमा ब्यस्त थिएँ। कति कति बेला म शुशीलालाई हेर्थेँ राम्री थिई मलाई बुझ्ने पनि अनि वास्तवमै शुशीला शीलवती थिई। उता कमल भने आफ्नै धुनमा डुबेको थियो पत्रिकामै।  बुटवल कटिसकेपछि झुम्छामा खाजा खान गाडि रोकियो।
एकैछिनमै गाडिले पुन: रफ्तार लियो। मैले दुवैलाई हेरेर भने अब मेरो सुत्ने पालो। यद्यपि म सुतिन, यात्रामा निदाउने मेरो बानी छैन। बाटो जति घट्दै जान्थ्यो मलाई त्यति नै गाउको याद बड्थ्यो। रमाइला गफगाफ ठट्टा गर्दै अनि शुशिलालाई ब्यङ्ग्य गर्दै हामी रिडी आइपुग्यौँ। संयोगले रिडीमै गाडिको टायर पन्चर भयो। शुशीला त त्यहीसम्म मात्रै जाने हामीलाई भने आधाघण्टाको बसयात्रा बाँकी नै थियो। गाडि मर्मत गर्न केहीबेर लाग्ने भएकोले हामी तीनैजना नजिकैको होटलमा खाजा खान थाल्यौँ निकै ठट्टा गर्दै संगै फर्कने बिचारका साथ। करिब दश मिनेट पछि यौटा फुच्चे ले कागजको खोस्टो दिदै ऊ त्यो दिदीले दिएको भनेर पर ज्योतीलाई देखाउदै थियो। कागजमा लेखिएको थियो 'आइ लभ यु अनुप! सरि फर माइ लेट डिसिजन, आइ डिडनट गो इन्डिया बिकज अफ योर लभ' त्यो कागज मैलेभन्दा पहिला शुशीलाले नै पढी मेरो हातबाट खोसेर । मैले कागज ल्याउने फुच्चेलाई चुइगम दिएर थ्याङ यु ब्रो भनिदिएँ। एकैछिनमा ज्योती त्यहीँ आई। दुबैजना अचम्ममा परे भेट हुदा…… तर त्यो भन्दा अचम्ममा म परेँ, जब मलाई थाहा भो शुशीला ज्योतीका मामाकि छोरी हो !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

२०६४ असार १०, बलेटक्सार गुल्मी (संसोधन गरेर लेखिएको)


गजल


गजल

हाँसी रमाउनु तिमी जब म जलेको हुन्छु !
अन्तिम् घडी चितामा दन्दन् बलेको हुन्छु ।
कैले नझार्ने आँशु छ बिन्ती नझारि देउ,
निस्प्राण भै मुढो झै म कहीँ ढलेको हुन्छु।
आकाशमा म हुन्छु खुला ठाउमा नआऊ,
चुम्ला कतै हवाले म सिर्सिर् चलेको हुन्छु।
आउन्न भूत केही तिमी ढुक्कसाथ बाँच्नु,
आफै म भूत बन्दै म आफै छलेको हुन्छु।
तारा नहेर्नु झर्दा अतीतै त्यो बल्झिदेला,
टाढा कतै गगनमा म पनि फलेको हुन्छु।

कलंकी काठमाण्डौ, २०६५-११-८


Sunday, April 29, 2012

गजल


गजल
चाहन्थेँ म तिमीलै नै पाइला मोड्यौ बेश भो।
पछि धोकादिनुभन्दा पहिलै छोड्यौ बेश भो।
फूल भनी लाको माया काँडा बन्न दिनुभन्दा,
फूल काँडा नचिनिदै बोट गोड्यौ बेश भो।
सक्दिनथे तिमीलाई धनभन्दा माथि राख्न,
बेलैमाथि धनीसंग साइनो जोड्यौ बेश भो।
जानी जानी आफ्नै खुट्टा बन्चरोले हानेको म,
जाल्मा पारी प्रभातको दिल फोड्यौ बेश भो।
तिमीलाई अंगालेर जन्जीरमा परेको हूँ,
अन्तै जाँदा मायाको जन्जीर तोड्यौ बेश भो।

२०६३-८-९  बलेटक्सार गुल्मी


Friday, April 20, 2012

प्रगति


 'प्रगति' को परिभाषा मैले ठ्याक्कै परिभाषित गर्न सकेको छैन । म आफै अन्योलग्रस्त छु, खासमा केलाई प्रगति भन्ने । सबै कुराको वृृृद्धिलाई प्रगति भन्न सकिन्न, न त कमीलाई । साँच्चै जटिल छ प्रगतिको सिमाङ्कन ।
"फलानाले त क्या प्रगति गर्यो यार, खुब कमाएको छ ।" धेरैजसो मान्छेबाट सुनिने प्रगतिको परिभाषा हो यो । कमाइलाई केन्द्रमा राखेर परिभाषित गरिएको यो परिभाषा पनि सर्वसम्मत छैन । कमाउन त भरीया, कामदार, कुल्ली, डाक्टर, ब्रोकर , बैंकर सबैले कमाएकै छन् । कसको कति कमाइलाई प्रगति भन्ने ठ्याक्कै मापदण्ड छैन ।

एकपटक एकजना एस पि सापले भन्नुभयो, 'उमेरभर बन्दुकसित खेलेर बुढेसकालमा बीस हजार पेन्सन आउँँछ । अहिले यौटा सामान्य कुल्लीले अठार बिस हजार सजिलै कमाउछ । अनि मेरो कमाइ कहाँ म्याच भयो त !' मलाई सुझाव दिँदै उहाँले थप्नुभयो, 'त्यसैले भाइ यो सर्कारी जागिरको पछाडि धेरै नलाग । तिमीजस्तो मान्छेले त प्राइभेट सेक्टरमै धेरै प्रोग्रेस गर्न सक्छौ । फलानोले यता साठी हजार कमाउछ, उता फलानाले झन् महिनामै दुई लाख पठाउछ युकेतिरबाट …………….’

एकदिन बाटोमा अकस्मात मावलीतिरको भाइ भेटियो । उसले खासै पढेन क्यारे, पहिला इन्डिया पनि वर्ष चार बस्यो क्यारे, अहिले यही शहरमा रहेछ । ट्याक्सी ड्राइभर बनेछ । उसले भन्यो 'दाइले बरु प्रगति गर्नुभयो, आफूले त पढ्न नि सकिएन । यैँ ट्याक्सिले हातमुख जोर्न पुगिहाल्छ, ढाई वर्षमा ट्याक्सि आफ्नो बनाएँ' कुरा गर्दै जादा थाहा भो, उसले पनि मासिक तीस हजार बढी कमाउने रहेछ, शहरकि केटीसंग बिहे गरेर घरजम पनि गरिसकेछ । मैले भने 'भाइ प्रगति त तिम्रो पो भएछ ।'

मलाई आफूले पटक्कै प्रगति गर्न नसकेको त शतप्रतिशत नै थाहा छ, तैपनि अरुले फुर्काएर भन्ने शब्द 'पढेलेखेको मान्छे'मा केही पनि तुक देख्न छाडेको छु । मेरो पढाइलाई प्रगति भन्न मिल्दैन । अहिले शहरमा सबै पढेलेखेकै मान्छे त भेटिन्छन् छ्यापछ्यपी । अरु केही काम नपाएर मास्टर्स पढ्दैछु, त्यही त हो, कहिलै राम्रो नम्बर ल्याउन सकिएन । प्रगति भन्ने श्रेणीको पढाइ यो हुदै होइन । डिग्री सकाएपछि पनि कतै पढाउने काम पाइए त हो नत्र के गर्ने भन्ने ठोस बिचार पनि ममा केही थिएन । कहिलेकाही भविष्यको चिन्ता हुन्छ तर चिन्ता पनि त समस्याको समाधान होइन रहेछ । कहिलेकाही कोरियन वा जापानी भाषा पनि पढौ कि झैँ लाग्छ ।
गाउकै एकजना काकाको छोरा बल्लबल्ल एस् एल् सि पास गरेर पुलिसमा छिर्‍यो। पहिला धेरैले उसलाई गाली गरे । म आफैले पनि उसलाई क्याम्पस पढ्न सुझाएथेँ । अहिले दश बर्षपछि ऊ आर्मी हवल्दार बनेको छ । हुन त उसको भन्दा डेढगुणा बढी पैसा हुने नीजि क्षेत्रको राम्रै ग्रुपमा अन्तर्वार्ता पास गरेरै केही समय जागिर गरेँ गतिलै पदमा । त्यसलाई पनि कतिले प्रगतिको संज्ञा दिए यद्यपि मैले प्रगति ठानिन र फुर्किइन पनि । केही समयपछि म्यानेजरसंग टकराव परेपछि मैले जागिर छोड्नु पर्‍यो । नियम र सत्यतामा म अडिग हुनाले दुख मनाउ गर्न पनि आवश्यक ठानिन । मनमनै एउटा इख लिएँ मैले पनि प्रगति गर्नेछु ।

मेरो एउटा साथी अलि गजडी स्वभावको छ । बाउ बाजेको सम्पत्ती प्रशस्त भएकोले पनि उसले मिहिनेत नगरिकन खुला दिलले खर्च गर्छ । प्राय: सधै बिन्दास मुडमा देखिने ऊ हल्का तानेकै अवस्थामा बढी देखिन्छ । उसको प्रगतिको परिभाषा अलि फरक खालको छ । राम्री केटी बिहे गर्नु नै उसको लागि प्रगति हो । उसको सधै सुझाब रहन्छ ' हेर जोशमा आएर लव म्यारिज नगर्नु, बाजा बजाएर प्रकाशकि बुढी झै केटी बिहे गर्नुपर्छ ।' यद्यपि उसले बाजा बजाएर बिहे गर्नेछ भन्नेमा मलाई शंका नै लाग्छ ।

गाउमा संसारबाट बैरागिएका यौटा महात्मा बाबा छन् । प्राय वरिपरीका गाउँमा योग वाशिष्ठ भन्ने पुस्तक लिएर डुल्नु र ज्ञानगुनका कुरा गर्नु उनको विशेषता हो । उनी कसैको घरमा भिक्षा लिदैनन्, एक घरमा एकचोटिमा बढिमा एक छाक खाने अर्को घर वा गाउँतिर लागिहाल्छन् । कहिलेकाही मन्दिरतिर पनि देखिन्छन् । उनले हिन्दी र नेपाली बराबरीजसो मिसाएर कुरा गर्छन् । तत्वज्ञान पाउनु नै उनको लागि सर्वोत्तम प्रगति हो । 'देख बेटा, अगर तत्व ज्ञान छैनभने फिर संसारमा जन्मने र मर्ने चक्रमा आना पड्ता है ।' यस्तै हुन्छन् उनका उपदेशहरु ।  प्रगतिको परिभाषा ठम्याउन नसक्ने मेरो सानो दिमागले कहाँबाट तत्वज्ञान भेटाओस्, अहिले तत्वज्ञानतिर नसोचौँ होला ।

कतै दाम कमाउनुलाई भन्दा नाम कमाउनुलाई प्रगति मान्नेहरुको पनि सानो समूह छ । सच्चा कर्मठ एवं कर्तव्यनिष्ठ असल दर्जाका मान्छे नगन्य संख्यामा भेटिन्छन् । यो समूहमा शयकडा एक दुई जना मुस्किलले भेटिन्छन् । सच्चा दिलले विधानत: काम गर्ने र धन सम्पतिमा आफ्नो स्वाभिमान नदाँच्नेहरु लोपोन्मुख अवस्थामा छन् । कलियुगमा यो सिद्धान्तको ब्याबहारिकता शुन्यप्राय छ ।

अर्कोतिर निकै बाक्लो समूह छ घर किन्नु वा कार किन्नुलाई प्रगति मान्नेहरुको । घडेरी जोड्नु, बैंक ब्यालेन्स बढाउनु, आफूलाई उच्च र व्यस्त देखाउनु यसो विदेशतिर पनि गइरहनु यो समूहका आम विशेषता हुन् । म आफै पनि कति कति बेला यो समूहतिर ढल्किन खोज्छु तर चाहेर पनि  मैले यस्तो हैसियत बनाउन सकिन, धेरै प्रयास गर्दा पनि मैले यो प्लेटफर्म पाउन सकिन । त्यसैले योगी बन्ने प्रवल संभावना रहेको आफ्नो कुण्डली सम्झेर त्यतातिरबाट चित्त मोड्न भने सकेको छु ।
दान धर्म र तिर्थव्रत गर्नुलाई प्रगतिमा सिमाङ्कन गर्नेहरुको पनि सानो समूह छ विशेष गरी अति आस्तिक र अलि बुढापाकाहरुको । हुन त बैश र उमेरमा पाप र कुकर्म गरेपनि, जस्तै कठोर बनेपनि उमेर घर्किएर पचास कटेपछि पूजा आजा तथा भजन कीर्तनतिर लागेको समूह पनि समाजमा कता कति देख्न पाइन्छ ।
 केही बर्ष पहिला मेरो उमेरका साथीहरुसंग मिलेर भगवान छैनन्, ढुंगो पूजा गर्न पर्दैन, नखाइ नखाई भोकै बस्नु पर्दैन भन्दै घरमा तहल्का गर्दा आमाले कुचाले हान्दै भगवान् छैनन् भन्ने पशु यो घराँ पस्न पर्दैन थुक्क ! यस्ता पशुले के प्रगति गर्लान् जिवना भनी एकछाक खानबाट समेत बन्चित गर्नु भएकोले हिजोआज मैले यस्तो हल्ला गर्न छोडेको छु । तर्क बितर्क र कुतर्क गरेर कुरालाई जतापनि मोड्न सकिन्छ । यसमा धेरै दिमाग नखियाऊँ । यो भयो यौटा नितान्त ब्यक्तिगत मामला । जे होस्, सबै भगवानको देन हो भन्दै अर्को जन्मका लागि समेत भनेर प्रगति गर्न खोज्नेहरुको समूह पनि समाजबाट लोप भैसकेको छैन ।

मेरो एकजना आफन्त हुनुहुन्छ निकै भुडी लागेको, सम्मानको जिन्दगि, गाडि, बंगलो, खेत र घडेरी पनि प्रसस्त । सम्मानपूर्ण जागिर र रियलस्टेट बिजनेश दश करोड बढी सम्पत्तिको मालिक । केही समय मैले पनि उहाको संगत गरेथेँ म अलि सोझो मनको छु क्यारे मैले कमाउने तरिका जानिन । पैसाकै पछि दगुर्ने स्वभावको पनि म परिन त्यसैले पैसाले मलाई घृणा गरे होला ।
गएको महिना एक्कासी पशुपति मन्दिर परिसरमा उहाँसंग भेट भो । खुट्टा ढोग्दै मैले भने 'हजुरको प्रगतिलाई मान्नै पर्छ ।' उनले शालीनतापूर्वक भने 'हेर बाबु कमाउन त खुब कमाइयो खान न खुट्नसित । मिहिनेत पनि कम्ता गरिएन तर अहिले याँ सुगर र प्रेशर बढेर खान क्यै हुन्न । दबाई खान बिर्से फुत्रु फुत्रु हुन्छु, बुढियालाई नि सुगर छ गरुङ्गो क्यै गर्न सक्दिने । छोराछोरी सबै आफ्नै धुनमा । जति कमाए नि मर्दा जानि रित्तै रैछ, निरोगी हुनुजस्तो प्रगति त के हुन्थ्यो !' बुढा फेरिएछन् अचेल भन्ने अनुमान मैले गरेँ, बुढा आफू रोगिएकोले होला आरोग्यतालाई प्रगति माने ।

कतै कतै राजनीति गर्नु , नेता बन्नु वा कुर्सीमा पुग्नुलाई प्रगति मान्ने मान्छेहरु पनि छन् । मलाई त्यता तर्फ खास रुची नभएकोले धेरै थाहा भएन ।
टन्न कमाएका ती आफन्तपछि म पल्लो गाँउका ज्यामी दाइको कुरा सुन्न पुगेँ जो निकै बलिया र निरोगीको रुपमा चिनिन्थे । उनले सुनाए ' के गर्नु बाबु मैले आजसम्म शहरीया औषधी खाको छैन । अलि पहिला एकफेर नराम्ररी कुखत परो (टाइफाइड भो) त्यै नि चार छाक रानीसिन्की र ज्वानाको झोल खाको स्वाट ठिक भो ।' 
उनको निरोगिपनाको तारिफ मैले गर्नै परो किनभने मलाई एकबर्ष बिराएर ज्वरो आउने बानी नै छ र एन्टिबायोटिक नखाइकन ठिक हुदैन पनि मलाई त । उनले थपे 'उमेरमा त अरु चार जनाले बोक्ने दार म भए दुई जनाले नै बोकिन्थ्यो, त्यसै नाइके बनाका होइनन् मलाई । तर के गर्नु, जति गरे पनि बजारतिर घर किन्न सकिएन यैँ झुप्राको झुप्रैमा आनन्द मान्दछु ।' घुम्दैफिर्दै उनको परिभाषा धन केन्द्रित भयो ।

कतै लोकसेवामा अधिकृत परीक्षा पास गर्नुलाई प्रगति मान्ने समूह पनि छ । यसमा अहिलेका बहुसंख्यक विद्यार्थीहरुलाई मैले भेटेको छु । प्राय: शिक्षित गाउलेहरु यो समूह अन्तर्गत पर्नेजस्तो लाग्छ मलाई । गतिलो मानिने स्थाई जागिरलाई प्रगतिको केन्द्र मान्नेहरु प्रशस्तै पाइन्छन् । मैले चाहि यो प्रगति पनि गर्न सकिन ।

दुई चारजना बुज्रुकहरुको पनि परिभाषा र मान्यता बुझेपछि मेरो निस्कर्ष रहेको छ, प्रगतिको खास परिभाषा मैले ठम्याउन सकिन । यसले व्यापक क्षेत्र ओगट्ने रहेछ र यसको मुख्य विशेषता भनेको यसको परिभाषालाई आफू अनुकुल वा प्रतिकुल ब्याख्या गर्न सकिन्छ । तथापि मैले आफूमा प्रगतिको कुनै गन्ध पाइन । भविष्यमा केही गरिएछ भने यौटा आफू अनुकुलको परिभाषा मैले पनि दिनेछु प्रगतिको !!!!!




लाजिम्पाट काठमाण्डौ, २ वैशाख २०६९


Wednesday, April 18, 2012

मुक्तक


मुक्तक

सधै शुन्यता भो हरे जिन्दगी यो ।
छि छी लाश भन्छन् मरे जिन्दगी यो ।।
यहाँ बाँच्नुको मात्र चिन्ता सबैमा,
समाधान गाह्रो छ रे जिन्दगी यो ।।
कतै घाम जस्तै कतै रात जस्तै,
बिचल्ली हुने रात् परे जिन्दगी यो ।।

मुक्तक

तराई झरी धाक दिन्छौ हिमशैल टाकुराको ।
जरा काटी वशन्तमा आश गर्छौ आँकुराको ।।
मात्रीभूमि टुक्राउन भाइसंग युद्ध गरी ,
जित भयो वाह भन्छौ बीरपुर्खा पाखुराको ।।
जन्मभूमि माटोलाई छताछुल्ल बनाउन ,            
कमी छैन मरि मेट्ने स्वार्थी दुष्ट माकुराको ।।

Sunday, April 15, 2012

भारी छ मस्तिष्क यो


भारी छ मस्तिष्क यो ( शार्दुलवीक्रीडित )

हुन्थ्यो शान्त,थिएन सोच धमिलो चङ्गा थियो मन् पनि
प्यारो गाँउ वरिपरी सुख थियो हास्दै टहल्थ्यौँ अनि ।
के के नै मिलिहाल्छ हो शहरमा मेरो बडो भ्रम त्यो
चौतर्फी भ्रमजालको लहरले भारी छ मस्तिष्क यो ।१।

मान्छेमा सुविचार छैन धनको खेतीतिरै ब्यस्त छन्
सोझा निर्धन आत्मका तर धनी अन्यायले त्रस्त छन् ।
ठग्ने वा घुसखोर गर्न नसके अस्तित्व याहाँ गयो
मेरो लक्ष कता छ सोच्न नसकी भारी छ मस्तिष्क यो ।२।

पानीको पनि तिर्नुपर्छ रुपिया पाइन्न खै तै पनि
कोठामा कति ढाँड भाँड बढिगो थुप्रिन्छ फोहोर नि ।
पानीको अघि मुल्य तिर्नु अनि लौ तिर्नै छ शौचादिको
पैसाले लफडा गरेपछि अहो भारी छ मस्तिष्क यो ।३।

भोकै छौँ तर छैन इन्धन हरे खाना बनाऔँ कता,
साथीको पनि चाल यै भइदिदा के हुन्छ आत्मीयता ??
सम्ब्रिद्धी अनि सुख्खको रहरमा दिक्दार मात्रै भयो
सोच्दामा दुख कष्ट यी शहरका भारी छ मस्तिष्क यो ।४।

तर्कारीहरु मंगिएर सब यी किन्नै नसक्ने भए
कोठाको पनि मुल्य बढ्छ महिना सात् आठ मात्रै गए ।
निद्रामा सपना म देख्छु कहिले गाडी निजी बंगलो
जाग्दामा सब शुन्यता वरिपरी भारी छ मस्तिष्क यो ।५।

सारै कष्ट सहेर क्याम्पस सक्यो जागीर पाइन्न खै
आफ्नो भन्सुन सोर्सफोर्स नचले बाँच्नै नि गाह्रो छ है ।
यस्तो नर्क समानको शहरमा बुद्धीजती भ्रष्ट भो
अल्झिँदा दुख कष्टको बगरमा भारी छ मस्तिष्क यो ।६।

पैसाको लफडा बुझेर धनको सन्जालमा छन् सबै
चाहेको सुख मोज मस्त दुनीया पाइन्छ पैसासगै ।
खल्ती टम्म भए सबै र नहुदा केही न केही भयो
मैले टन्न कमाउदैन कि भनी भारी छ मस्तिष्क यो ।७।

लाजिम्पाट काठमाण्डौ, २०६८-११-१६


Monday, April 9, 2012

नया बर्षको शुभकामना


नया बर्षको शुभकामना (शार्दूलवीक्रीडित)

आयो फेरि नयाँ वशन्त ऋतुले नौलो लिई साल यो
आकांक्षाहरु तिव्र छन् मनभरी पुग्ला कहाँ सम्मको ।
यो बैशाख नया बनेर ठडिई बर्षै बितोस् हर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

पात्रो मात्र नया छ जिर्ण घरको भित्तो पुरानै भयो
ताजै छन् मनभित्र घाउ कतिका के हुन्छ उल्लास त्यो ।
शान्तीसंग विकासले गति लिई नेपाल उत्कर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

 

पैलाको रिसराग स्वार्थ नभुले खुल्दैन बाटो अब
साँच्चै देश बनाउने प्रण गरी बाटो खुलाऔँ सब ।
माटोको अनि न्यायकै विजय होस् सम्पूर्ण संघर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

यो पाली शुभकामना छ अधुरो आधा मनै चिन्तित
शान्ती स्थापित भै विकास पथमा लम्के सबैको जित ।
चाडै पुग्न सकोस् सबै दल मिली यो शान्ती निस्कर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

लाजिम्पाट काठमाण्डौ, २०६८-११-१६


गजल


        गजल
पिरतीमा के गर्नु र कुरा स्वार्थ घातको !
रिसाएर एक्लै हिड्ने नरमाइलो मातको !

यो मनको कुरा सबै तिमीलाई थाहै छ नि,
के बयान गरु र म पत्रका ती खातको !

सारै स्वच्छ मन तिम्रो पूर्णिमाको जुनजस्तै,
जुनसंग मितेरी छ पूर्णिमामा रातको !

फूललाई रोज्छन् सबै स्वार्थी यो दुनीयामा,
मुल्य छैन कही पनि काँडा अनि पातको !

सधैभरि साथ दिई मिलेर बसौँ हामी,
सधै यस्तै चाहना छ सबिन प्रभातको !

बलेटक्सार गुल्मी , २०६२- २- २५




Thursday, March 15, 2012

Sweet Joke

Sweet Joke


Girl's version:
1st day:
i saw an idiot sleeping on the first bench
i said,"idiot!" :D
2nd day:
... saw the same idiot got punished
3rd day:
he was fighting with some boys
uuuuuhh,idiot! xD
4th day:
i couldn't find him
where is he?? :(

boy's version:
1st day:
when i opened my eyes,
i saw her smile :)
2nd day:
igot punished so that she could notice me through the whole class ;)
3rd day:
a boy said some thing about liking her,,,n i made him understand in my own way :D
4th day:
i was sitting on the last bench,she turned to find me,,,
n we smiled :)


Copied From FaceBook , Special thanks to Nayan Upd and Eagle Group



गजल


गजल
मासु खान्छ फ्याउरोले जिल्ल पर्छ काग यहाँ,
बिरालो भो शक्तिशाली डराउछ बाघ यहाँ ।
क्रान्ति के हो वास्तविक बुझेकाको आँखा छोपी,
प्रतिगामी स्वाँठलाई भन्छन् अझै जाग यहाँ ।
स्वच्छछवी कोइला भो सुनौलो छ आडम्बर,
नक्कली सुन् ढाकिदिन्छ कोइलाको दाग यहाँ ।
सर्प नाम हानी भयो अलि भ्रमजाल रची,
नामै मात्र बदलेर पूजीइन्छन् नाग यहाँ ।
कुर्सीमा छ बुद्धिमानी, कुर्सीमै छ शक्ति पनि,
मान्ने भए साथीहरु कुर्सी ढाल्न लाग यहाँ ।
परिवेश बाद्यताले साघुरियो यथार्थ नै,
सिस्नो पनि साग भयो रायो पनि साग यहाँ ।

कलंकी, काठमाण्डौ, २०६६-०९-०२


गजल


गजल
माया गर्नु तिमीलाई प्रभातको दोष छैन
मन शुन्य भएको छ अझैसम्म होष छैन।
चार दिन भइसक्यो तिमीलाई नदेखेको,
नदेखेरै हो कि कुन्नि केही गर्ने जोश छैन ।
भेट्नै पनि जान्थे बरु घरकाको डरले हो,
नजिकै हो घर तिम्रो बाटो आधी कोश छैन ।
मनैबाट चाहिएको साथी भेट्न नपाउदा,
अधैर्य बन्छ मन सबिन सन्तोष छैन ।
तिम्रालागि एकान्तमा म एक्लै रुदा रुदै,
आँखाहरु सुख्खा भए कत्तिपनि ओश छैन ।

२०६३-०३-२३ , साँझ ६ बजे , बलेटक्सार गुल्मी


सजीव लास


सजीव लास
जीवनको अस्तित्वको प्रश्न स्पन्दनमा उर्लिदा बाँचेकोमा गर्व लाग्यो।
असमानताको वास्तविकता आत्मसाथ गरेपछि अस्तित्व नै निरर्थक अनुभुत भयो :
मलाई लागेन म बाँचेको छु , किनभने बाँच्नुको अर्थ यस्तो होइन
निरर्थक यथार्थ ।।
बाद्यताको अस्तित्वमा सजीवताको संकेत हुदैन, म आत्महत्या गर्ने शाहस नभएर
जीवित छु : निरर्थक यथार्थ ।।
सजीव लास बाँचेको होइन, नमरेको मात्र हो।
बाँच्नु र नमर्नु फरक कुरा हो।
आत्महत्याको शाहस नभएर बाँच्नुभन्दा श्रेयस्कर छ म्रित्यु :निरर्थक यथार्थ ।।

२०६६, कलंकी काठमाण्डौ


                                      

Tuesday, March 6, 2012

चुरोट प्रपन्च


चुरोट प्रपन्च


मेरो जिवनको सबैभन्दा प्रिय बस्तु हो चुरोट। मेरो हर दिनको शुभारम्भ चुरोटसँगै हुन्छ र दिनको अन्त्य पनि चुरोटसँगै हुन्छ। मेरो साथमा कहिल्यै नछुट्ने बस्तु पनि चुरोट नै हो। चुरोट मेरो साथी र सलाई चुरोटको साथी यसैले चुरोटको डिब्बा र सलाईको लागि मेरो कोटको भित्री गोजामा बिशेष स्थान  छ। त्यहाँ चुरोट र सलाई कहिलै सकिदैन। यौटा सकिनासाथ अर्को नयाले विस्थापित गर्छ। दिनमा औसत एक डिब्बाले पुगेकै छ। मेरो खर्चमा सानो मात्रामा भएपनि चुरोटको हिस्सा नियमित छ। चुरोटको साथमा म कहिलै एक्लो महसुश गर्दिन, अझ भन्ने हो भने चुरोटकै कारण म थुप्रै साथीहरु बनाउन समेत सफल भएको छु।
About Cigarette Smokingthumbnail
चुरोट कहिलेदेखि मेरो प्रियपात्र बन्यो स्पष्टसाथ भन्न नसके पनि स्कुले जिवनबाटै यससँग म परिचित थिएँ। लुकिछिपी मेरो र यसको मित्रता प्रगाढ बन्यो, अहिले त कुनै समस्या नै छैन, जतिबेला मन लाग्यो त्यतिबेलै सल्काउछु। थुप्रै बाधा ब्यवधानहरु सहेर मैले चुरोटलाई अंगालेको हुँ। कतिपल्ट त बाको खल्तीसमेत खदुल्न पर्‍यो सुरुसुरुमा, आमाको गालीले समेत छुटाउन सकेन। म चुरोटप्रति अडिग रहेँ। बरु चुरोटकै कारण केही मनचिन्ते साथीहरु गुमाए पनि उनीहरुको कारण यसलाई नगुमाएकोमा मलाई गर्व छ।
एकदिन मजस्तै अन्य कति जनाले चुरोटलाई साथी बनाएका रहेछन् भनी जन्ने इच्छाले म भ्रिकुटीमण्डप अगाडि करिब एकघण्टा चनाखो भै हेरेँ। नजिकै एउटी बुढी आमा नाङ्ले पसल थापेर बसिरहेकि थिइन् ग्राहक पर्खदै। उनीबाटै शुरु भो मेरो गणना। हातमा आधी पग्लिएको चुरोट छोपेर उनी मतिर नै हेर्दै थिइन्। खल्तीमा चुरोट सकिएकोभए अवश्य नै म उनको ग्राहक हुन्थेँ तर बिहान नया डिब्बा किनेपछि सात खिल्लीमात्रै त तानेको थिएँ। आठौँ खिल्ली सल्काएर बुढीआमाको नाङ्लोमाथि नजर फ्याँकेको त्यहाँ छ सात प्रकारका चुरोटहरु थिए। नढाटी भन्नुपर्दा उनका सम्पूर्ण समानको एक तिहाई त चुरोट मात्रै थिए। केही सुर्तीले चुरोटको शोभा बढाएका थिए।
चम्केको घोडाको तालमा एक अधबैसे युवक आयो। ऊ केही उदास देखिन्थ्यो मुखबाट एक मुस्लो कालो धुवा उडाउदै। करिब बिस मिटरको मात्र दुरीमा उसले त्यसरी नै चारपल्ट मुस्लो उडायो र सकिनै लागेको चुरोटको ठुटो पुन एकपल्ट तानेर नालीतिर मिल्कायो। चुरोट बलिरहेकै थियो।
नज्जिकै रहेको खाजाघरतर्फ मैले नजर पुर्‍याएँ, करिब पन्ध्र जनामध्ये चार जनाको हातमा चुरोट रमाएको थियो। मैले नजर त्यही स्थिर राखेँ। केहीबेरमै ती चारबाट अन्य चारमा चुरोट हस्तान्तरण भए। यसरी अन्त्यसम्ममा प्रत्येकको हातमा चुरोट पुग्यो। अरु केही खाना अर्काको जुठो नखानेहरु पनि चुरोट चाहि मज्जाले जुठो खाइरहेका हुन्छन्। अजबको छ चुरोट न त खानु पर्ने न त पिनु नै पर्ने।
आँखा मोड्दै थिएँ, विदेशी प्रयटक जोडी विदेशी चुरोटमै मस्त थिए। नेपालमा चाही युवतीहरुले चुरोट पिएको मैले त्यति भेटेको छैन। बुढी आमैहरु चाहि प्रसस्तै भेटिन्छन् शहरतिर पनि। मेरो कोठा नजिकै बस्ने शासू, बुहारी र छोरा तिनै जनाले चुरोट पिउछन्। एकपल्ट त उनिहरु घरमा नभएको मौका पारेर सोह्र सत्र बर्षको  छोराले समेत चुरोट तान्दै थियो।
हेलिकप्टरकैजस्तो आवाजका साथ आएको अस्थिपन्जर जस्तो देखिने बाइकको चालक ठिटो एक हात छोडेर मुखको चुरोट मिलाउदै अघि बढ्यो। बिस्तारै आएर टेम्पो रोकियो, ड्राइभरले पाँच रुपिया दिदै सात आठ बर्षको फुच्चे खलासीलाई बुढीआमाको पसलबाट चुरोट लिन पठायो। ओठ निचोरे दुध झर्ने जस्तो बालक केटोले निकै परिपक्वतासाथ चार स्वाँक तानेर मात्र ड्राइभरलाई दियो। ड्राइभरले प्रसन्न मुद्रामा चुरोट र टेम्पो सङ्गै अगाडि बढायो।
म उभिएको पल्लो साइडमा आफ्नी प्रेमिकालाई बाया हातले अङालेको युवकले पनि दाया हातले चुरोट छोप्न भ्याएकै थियो। त्यो प्रेमिका मौन थिई। चुरोटको खरानी युवकले झट्कारो अनि दुवैजना अघि बढे। मैले मेरी पत्नीलाई सम्झेँ मेरो श्रीमतीसँग चुरोटको विषयमा प्राय झगडा हुन्छ, कपडा धुने क्रममा सात आठपल्ट डब्बै नफ्याकिदिएकि पनि होइन यद्यपि नया किन्दा झन् बढी खर्च हुने भएकोले हिजोआज क्यै भन्दिन तथापि उसको नजिकै चुरोट पिउन मनाही गराएकि छे। मैले त्यस युवककी प्रेमिकालाई आफ्नी पत्नीसँग तुलना गर्न सकिन खासगरी चुरोट खान अनुमती दिने सन्दर्भमा।
यस्सो घडी हेरेको आधा घण्टा बढी भैसकेछ म त्यहाँ अल्झिएको। चुरोट धेरैको आत्मीय मित्र बन्न सफल छ। म जता गयो कम्तीमा शयकडा तीस जनाले चुरोट तानेको देख्छु। साथीहरुसङ्ग खाजा खाने ठाउमा खाजा भन्दा पहिले चुरोट आउछ। दिनदिनै चुरोट किन्नुपर्दा चुरोट कम्पनिमै जागिर खाने मन पनि नभएको हैन तर अचम्म चुरोट कम्पनिभित्र समेत चुरोट खान नपाइने भएपछि त्यतातर्फ लागिन, सामान्य जागिरले नै चलेको छ।
यौटा ठिटो लामो लामो सासले चुरोट तानेर फाल्यो अनि क्याम्पसको गेटभित्र पस्यो। पट्याट लागेकोले मैले पनि नवौ खिल्ली चुरोट सल्काएँ। अर्को हिपहप देखिने ठिटो पनि क्याम्पसको गेटमा चुरोट फालेर क्याम्पस छिर्‍यो, यसरी खुलेआम चुरोट खादै क्याम्पसको गेटमा चुरोटका ठुटा फाल्नेहरुको कमी छैन। पचासौ चुरोटका ठुटाहरु क्याम्पसको गेटमा मैले भेटाएँ। सरकारी क्याम्पस प्रशासनको त्यतातर्फ पटक्कै ध्यान नपुगेकोले एक प्रकारको स्वतन्त्रता नै छ। मलाई याद भयो एकपल्ट मैले प्रतिबन्धित ठाउमा चुरोट सल्काउदा तीन महिना चुरोट आउने पैसा त जरिवाना नै तिर्नु परेथ्यो तर कत्ति पनि नहड्बडाई चुरोट तान्दै आएको छु अधिकारको प्रयोग भन्दै। द्वी चारपल्ट त चुरोटले लज्जित समेत बनाएको छ।
म हिच्किचाउने किसिमको मान्छे होइन, कति पटक त आफन्तहरुले घरको कोठामा चुरोट खान नदिदा छतसम्म समेत पुग्नु परेको छ। एकचोटि हतारमा चुरोट राख्न बिर्सेछु, चुरोट किन्न पसलतिर छिरेको गाडी छुटेछ पछि एकघण्टा कुरेर अर्कै गाडिमा गएँ,समय ढिला भएकोले पाउनै लागेको जागिर पनि गुमाउनु पर्‍यो।
एकजना महोदय हातमा पुस्तक लिएर हिड्दै थिए, बाटोमा दुई तिनओटा भुसाहा कुकुर उनीप्रति भुक्दै थिए। विपरिततिरबाट एउटा ठाँटिलो पट्ठो हातमा चुरोट सहित आयो, कुकुरले उसलाई तर्केर बाटो छोडिदिए। भुक्ने त कुरै छोडौँ, कुकुरले समेत चुरोटको सम्मान गर्दा रहेछन्।
हातको चुरोट घट्दै थियो। मतिरै एउटा परिचित अनुहार आउदै गरेको देखेँ। उसको हातमा पनि चुरोट थियो। एक द्रिष्टि मतिर लगाएर केही नबोली सरासर ऊ गयो।  पछि मात्र थाहा भो ऊ त मेरो बिसौ बर्ष पुरानो स्कुले सहपाठी तर स्कुलपछि आजमात्रै देखेँ, उसले सायद मलाई चिनेन होला। यसो घडी हेर्दा एक घण्टा बित्नै लागेछ। पातलिएको चुरोटको एकसर्को तानेर म पनि लागेँ त्यहाबाट बेबारिसे यात्रामा !!!!!
कलंकी काठमाण्डौ, २०६६ -११ -१९ बुधबार




Everest On Her Chest

Everest On Her Chest

Rocky and hard way destination of far.
Fear of loneliness , she goes through the bar.
Thirst and hunger she forgets in haste,
Desires make Everest on her chest.
Lost in lust makes the sun cool cool.
Each breast of her is Elixir-Full.
Sweet kid away seizes all rest.
Desires make Everest on her chest
Directing dragging double tired feet.
Slowly she surges: hurried a bit.
For hope and future she does her best,
Desire makes Everest on her chest.
                        
                            (Dedicated to all the Mothers )

Kalanki, Kathmandu ~~  2067-04-02



Dream Miracle


Dream Miracle
                                                                                                                   
Miracle of the god, unseen girl and blind love.
Beyond the world where I find her chastity,
Devine heart with coocoo  voice.
The brightest star : radiant of her eyes.
Sweet breeze: her fragrant breath .
Oh…. Calm down my heart
I cant restrict such passion
Steps are ahead to grab it
Just a dream miracle.

Kalanki ,Kathmandu  ~~ 2066-08-08


Tuesday, February 21, 2012

अभाव


अभाव
"अभाव हरेक सजीव बस्तुको मनको चाहना माथिको तुसारापात हो मनले चाहेजति कुनै वस्तुको परिमाण नपाउनुलाई हामी अभाव भन्छौँ संसारमा थुप्रै चिजहरुको अभाव हुनु नै संसारको बिशेषता हो।
नहेरुँ भन्दा भन्दै पनि संसारमा थुप्रै अभावहरु देखिन्छ
शुरुमा आफ्नै कुरा गरौँ - एकपल्ट आफै पनि खाना नपुगेर आमासित झगडा गरेँ।
आमा के के भन्दै भट्भटाउनु भयो मलाइ पनि रिस उठ्यो तर रिसले मेरो पेट अघाउने भए पो !!
अस्तिमात्रै पनि धारामा पानी थाप्ने मान्छे गाग्रीहरुको भिडैभिड देखेँ त्यहाँ निकै होहल्ला थियो।
हिजो एकजनालाई अरुलाई जति पानि पुगेनछ , आज उनले बढि पानी पाउनुपर्ने माग गर्दै थिए
केही अरुले पनि आफूले बढी पानी पाउनु पर्ने माग गर्दै थिए , कोही कोहि त्यसको विरोध गर्दै थिए।
त्यहाँ पानीको अभाव थियो
एउटा अभाव हुनलाई अरु तिन चार ओटा सहायक अभावले महत्वपूर्ण भुमिका खेल्दछ।
यहाँ घरमा खानाको अभाव हुनुमा पैसाको मुख्य अभाव हुन सक्छ। पैसाको अभावको मुख्य कारण राम्रो ब्यावशाय वा जागिरको अभाव त्यसको मुख्य कारण राम्रो ज्ञान , सिप वा अवसरको अभाव हो राम्रो शिक्षा वा सिप नहुनुमा घरमा शिक्षित वातावरणको अभाव त्यसको कारणमा बाबु आमामा चेतनाको अभाव आदि,,,,,,,,,,,, यसरि, अभावको मुख्य कारण अभाव नै हो
त्यस्तै, धारामा पानिको अभाव हुनुमा नजिकै जलाशयको अभाव, दक्ष इन्जिनियर वा मिस्त्रीको अभाव, भौगोलिक सुविधाको अभावजस्ता अभावहरु नै प्रमुख कारण छन्।
तिनका उपकारणहरुको चर्चा बिश्लेषण गर्न थाल्ने हो भने डायरीमा लेख्ने ठाउ कलममा मसिको अभाव हुन्छ , त्यसैले त्यतातर्फ नलागौँ
यौटा प्रश्न उठ्न सक्ला , नेपालमा शिक्षित मान्छेहरु बेरोजगार छन्, तर कतिपय मुर्ख मान्छेहरु पनि ठुलै ओहोदामा छन् घुसखोरी बाट हो या नाताबादबाट सो थाहा नभएपनि छनोटकर्ताहरुमा सुझबुझको अभाव यसको मुख्य कारण देखिन्छ।
संसारमा आभावले यस्तो विकराल रुप लिसक्यो कि अभावबिनको जिवन अधुरो लाग्न थालिसक्यो
धेरैलाई धनसम्पति, कसैलाई शिक्षा जागिर, कार कम्प्युटर, घरजग्गा ,असल साथी, पानि औषधी, सेवासुबिधा, कसैलाई मन्त्रिपद, कुर्सी पद घुस आदिको अभाव
मलाई बुद्धी ज्ञानको अभाव , घरमा पैसा सरसमानको अभाव छ। गाउमा सेवा सुविधाको अभाव छ।
देशमा अमन चयन विकासको अभाव , अन्तर्राष्ट्रिय जगतमा शान्ती सहिष्णुता लगायत धेरै चिजको अभाव
अभावकै कारणबाट झगडा, चोरी हत्या हिंसा बढ्ने गरेको हामिले देखेसुनैकै छौँ
देशको आर्थिक सामाजिक उन्नती विकासको मुख्य बाधक पनि अभाव नै हो  ~ चाहे पुँजी प्रविधीको अभाव होस् या प्राविधिक कामदारको , कुरा अभावकै हो
अभाव मानवलाई मात्र नपरी सम्पूर्ण जन्तु वर्गलाई नै पर्दो रैछ , घाँसको अभावमा भैसी निकै कराएको छ।
आहाराको अभावमा कमिलाहरु ताँतीका ताँती हिडिरहेको देखिन्छ
उपयुक्त मलजल मौसमको अभावले धान, मकैहरु फल्न नसकेर आर्थिक एवं खाद्यान्न अभाव होला जस्तो
अभाव नै सुखमय जिवन प्रगतिको बाधक हो , सङ्घर्षको मुख्य कारण पनि अभाव नै हो ।।
धनको अभावले चोरी डकैती बुद्धीको अभावले अधोगति भै रहेको मान्छेहरुमा विश्वासको अभाव छ। सुरक्षाको अभावमा हत्याहिंसा अपराधहरु बढेका छन्
उपयुक्त औषधीको अभावमा जिवन छोटिएको , खासगरी दुर्गम क्षेत्रतिर निर्जीव वस्तुहरुमाथि पनि अभाव उत्तिकै ब्याप्त प्रकाशको अभावमा औशी रात निस्पट्ट अध्यारो डरलाग्दो छ।
सुबिधाको अभावले जिवन कष्टपूर्ण छ। बग्ने ठाउको अभावमा नदिले पहाडै भत्काइदिएको
अभावले बच्चा बुढा ,तल्लो उपल्लो , गाउले शहरिया क्यै मा पनि भेदभाव नगरी सबैलाई समाना ब्याबहार गरेको
यत्र तत्र सर्वत्र अभावै अभाव घरमा अभाव पल्लो घरमा अभाव, गाउमा अभाव शहरमा अभाव, सडकमा अभाव पेट्रोलपम्पमा अभाव , शरिरमा पनि अभाव ।।
हिमालमा अभाव तराईमा अभाव , स्वदेशमा अभाव विदेशमा अभाव, सामान्य क्याल्कुलेटर देखि कम्प्युटरसम्म अभाव !! जहाँ पनि अभाव , अभावले ब्यापक क्षेत्र ओगटेको >
अभाव आवश्यकता ठूला आपसी सत्रु हुन्। अभाव चुहिने भाँडोभित्र थुनिएको , त्यसैले जतिनै भर्न खोजेपनि यो चुहिनै रहन्छ।
अभाव कसैले रोक्न सकिने चिज होइन यो एकचोटी एक रुपमा उछ त्यसको पुर्ति हुनेबित्तिकै अर्को रुप धारण गरेर अभाव पुन: उछ
यो क्रम अनन्तसम्म निरन्तर चलिरहन्छ। अभाव अभावकै कारणबाट उत्पन्न हुने समस्या हो यहाँ अनेक वस्तुको अभाव तर अभावकै अभाव कहिले हुने होला !!!!!
हरेकको इच्छा अग्निस्थापनाको मन्त्र सापटी लिनेहो भने ~ "अभावाय स्वाहा" अत्रप्रोणितोदकस्पर्श:


बलेटक्सार गुल्मी, २०६३ साउन गते