Friday, April 20, 2012

प्रगति


 'प्रगति' को परिभाषा मैले ठ्याक्कै परिभाषित गर्न सकेको छैन । म आफै अन्योलग्रस्त छु, खासमा केलाई प्रगति भन्ने । सबै कुराको वृृृद्धिलाई प्रगति भन्न सकिन्न, न त कमीलाई । साँच्चै जटिल छ प्रगतिको सिमाङ्कन ।
"फलानाले त क्या प्रगति गर्यो यार, खुब कमाएको छ ।" धेरैजसो मान्छेबाट सुनिने प्रगतिको परिभाषा हो यो । कमाइलाई केन्द्रमा राखेर परिभाषित गरिएको यो परिभाषा पनि सर्वसम्मत छैन । कमाउन त भरीया, कामदार, कुल्ली, डाक्टर, ब्रोकर , बैंकर सबैले कमाएकै छन् । कसको कति कमाइलाई प्रगति भन्ने ठ्याक्कै मापदण्ड छैन ।

एकपटक एकजना एस पि सापले भन्नुभयो, 'उमेरभर बन्दुकसित खेलेर बुढेसकालमा बीस हजार पेन्सन आउँँछ । अहिले यौटा सामान्य कुल्लीले अठार बिस हजार सजिलै कमाउछ । अनि मेरो कमाइ कहाँ म्याच भयो त !' मलाई सुझाव दिँदै उहाँले थप्नुभयो, 'त्यसैले भाइ यो सर्कारी जागिरको पछाडि धेरै नलाग । तिमीजस्तो मान्छेले त प्राइभेट सेक्टरमै धेरै प्रोग्रेस गर्न सक्छौ । फलानोले यता साठी हजार कमाउछ, उता फलानाले झन् महिनामै दुई लाख पठाउछ युकेतिरबाट …………….’

एकदिन बाटोमा अकस्मात मावलीतिरको भाइ भेटियो । उसले खासै पढेन क्यारे, पहिला इन्डिया पनि वर्ष चार बस्यो क्यारे, अहिले यही शहरमा रहेछ । ट्याक्सी ड्राइभर बनेछ । उसले भन्यो 'दाइले बरु प्रगति गर्नुभयो, आफूले त पढ्न नि सकिएन । यैँ ट्याक्सिले हातमुख जोर्न पुगिहाल्छ, ढाई वर्षमा ट्याक्सि आफ्नो बनाएँ' कुरा गर्दै जादा थाहा भो, उसले पनि मासिक तीस हजार बढी कमाउने रहेछ, शहरकि केटीसंग बिहे गरेर घरजम पनि गरिसकेछ । मैले भने 'भाइ प्रगति त तिम्रो पो भएछ ।'

मलाई आफूले पटक्कै प्रगति गर्न नसकेको त शतप्रतिशत नै थाहा छ, तैपनि अरुले फुर्काएर भन्ने शब्द 'पढेलेखेको मान्छे'मा केही पनि तुक देख्न छाडेको छु । मेरो पढाइलाई प्रगति भन्न मिल्दैन । अहिले शहरमा सबै पढेलेखेकै मान्छे त भेटिन्छन् छ्यापछ्यपी । अरु केही काम नपाएर मास्टर्स पढ्दैछु, त्यही त हो, कहिलै राम्रो नम्बर ल्याउन सकिएन । प्रगति भन्ने श्रेणीको पढाइ यो हुदै होइन । डिग्री सकाएपछि पनि कतै पढाउने काम पाइए त हो नत्र के गर्ने भन्ने ठोस बिचार पनि ममा केही थिएन । कहिलेकाही भविष्यको चिन्ता हुन्छ तर चिन्ता पनि त समस्याको समाधान होइन रहेछ । कहिलेकाही कोरियन वा जापानी भाषा पनि पढौ कि झैँ लाग्छ ।
गाउकै एकजना काकाको छोरा बल्लबल्ल एस् एल् सि पास गरेर पुलिसमा छिर्‍यो। पहिला धेरैले उसलाई गाली गरे । म आफैले पनि उसलाई क्याम्पस पढ्न सुझाएथेँ । अहिले दश बर्षपछि ऊ आर्मी हवल्दार बनेको छ । हुन त उसको भन्दा डेढगुणा बढी पैसा हुने नीजि क्षेत्रको राम्रै ग्रुपमा अन्तर्वार्ता पास गरेरै केही समय जागिर गरेँ गतिलै पदमा । त्यसलाई पनि कतिले प्रगतिको संज्ञा दिए यद्यपि मैले प्रगति ठानिन र फुर्किइन पनि । केही समयपछि म्यानेजरसंग टकराव परेपछि मैले जागिर छोड्नु पर्‍यो । नियम र सत्यतामा म अडिग हुनाले दुख मनाउ गर्न पनि आवश्यक ठानिन । मनमनै एउटा इख लिएँ मैले पनि प्रगति गर्नेछु ।

मेरो एउटा साथी अलि गजडी स्वभावको छ । बाउ बाजेको सम्पत्ती प्रशस्त भएकोले पनि उसले मिहिनेत नगरिकन खुला दिलले खर्च गर्छ । प्राय: सधै बिन्दास मुडमा देखिने ऊ हल्का तानेकै अवस्थामा बढी देखिन्छ । उसको प्रगतिको परिभाषा अलि फरक खालको छ । राम्री केटी बिहे गर्नु नै उसको लागि प्रगति हो । उसको सधै सुझाब रहन्छ ' हेर जोशमा आएर लव म्यारिज नगर्नु, बाजा बजाएर प्रकाशकि बुढी झै केटी बिहे गर्नुपर्छ ।' यद्यपि उसले बाजा बजाएर बिहे गर्नेछ भन्नेमा मलाई शंका नै लाग्छ ।

गाउमा संसारबाट बैरागिएका यौटा महात्मा बाबा छन् । प्राय वरिपरीका गाउँमा योग वाशिष्ठ भन्ने पुस्तक लिएर डुल्नु र ज्ञानगुनका कुरा गर्नु उनको विशेषता हो । उनी कसैको घरमा भिक्षा लिदैनन्, एक घरमा एकचोटिमा बढिमा एक छाक खाने अर्को घर वा गाउँतिर लागिहाल्छन् । कहिलेकाही मन्दिरतिर पनि देखिन्छन् । उनले हिन्दी र नेपाली बराबरीजसो मिसाएर कुरा गर्छन् । तत्वज्ञान पाउनु नै उनको लागि सर्वोत्तम प्रगति हो । 'देख बेटा, अगर तत्व ज्ञान छैनभने फिर संसारमा जन्मने र मर्ने चक्रमा आना पड्ता है ।' यस्तै हुन्छन् उनका उपदेशहरु ।  प्रगतिको परिभाषा ठम्याउन नसक्ने मेरो सानो दिमागले कहाँबाट तत्वज्ञान भेटाओस्, अहिले तत्वज्ञानतिर नसोचौँ होला ।

कतै दाम कमाउनुलाई भन्दा नाम कमाउनुलाई प्रगति मान्नेहरुको पनि सानो समूह छ । सच्चा कर्मठ एवं कर्तव्यनिष्ठ असल दर्जाका मान्छे नगन्य संख्यामा भेटिन्छन् । यो समूहमा शयकडा एक दुई जना मुस्किलले भेटिन्छन् । सच्चा दिलले विधानत: काम गर्ने र धन सम्पतिमा आफ्नो स्वाभिमान नदाँच्नेहरु लोपोन्मुख अवस्थामा छन् । कलियुगमा यो सिद्धान्तको ब्याबहारिकता शुन्यप्राय छ ।

अर्कोतिर निकै बाक्लो समूह छ घर किन्नु वा कार किन्नुलाई प्रगति मान्नेहरुको । घडेरी जोड्नु, बैंक ब्यालेन्स बढाउनु, आफूलाई उच्च र व्यस्त देखाउनु यसो विदेशतिर पनि गइरहनु यो समूहका आम विशेषता हुन् । म आफै पनि कति कति बेला यो समूहतिर ढल्किन खोज्छु तर चाहेर पनि  मैले यस्तो हैसियत बनाउन सकिन, धेरै प्रयास गर्दा पनि मैले यो प्लेटफर्म पाउन सकिन । त्यसैले योगी बन्ने प्रवल संभावना रहेको आफ्नो कुण्डली सम्झेर त्यतातिरबाट चित्त मोड्न भने सकेको छु ।
दान धर्म र तिर्थव्रत गर्नुलाई प्रगतिमा सिमाङ्कन गर्नेहरुको पनि सानो समूह छ विशेष गरी अति आस्तिक र अलि बुढापाकाहरुको । हुन त बैश र उमेरमा पाप र कुकर्म गरेपनि, जस्तै कठोर बनेपनि उमेर घर्किएर पचास कटेपछि पूजा आजा तथा भजन कीर्तनतिर लागेको समूह पनि समाजमा कता कति देख्न पाइन्छ ।
 केही बर्ष पहिला मेरो उमेरका साथीहरुसंग मिलेर भगवान छैनन्, ढुंगो पूजा गर्न पर्दैन, नखाइ नखाई भोकै बस्नु पर्दैन भन्दै घरमा तहल्का गर्दा आमाले कुचाले हान्दै भगवान् छैनन् भन्ने पशु यो घराँ पस्न पर्दैन थुक्क ! यस्ता पशुले के प्रगति गर्लान् जिवना भनी एकछाक खानबाट समेत बन्चित गर्नु भएकोले हिजोआज मैले यस्तो हल्ला गर्न छोडेको छु । तर्क बितर्क र कुतर्क गरेर कुरालाई जतापनि मोड्न सकिन्छ । यसमा धेरै दिमाग नखियाऊँ । यो भयो यौटा नितान्त ब्यक्तिगत मामला । जे होस्, सबै भगवानको देन हो भन्दै अर्को जन्मका लागि समेत भनेर प्रगति गर्न खोज्नेहरुको समूह पनि समाजबाट लोप भैसकेको छैन ।

मेरो एकजना आफन्त हुनुहुन्छ निकै भुडी लागेको, सम्मानको जिन्दगि, गाडि, बंगलो, खेत र घडेरी पनि प्रसस्त । सम्मानपूर्ण जागिर र रियलस्टेट बिजनेश दश करोड बढी सम्पत्तिको मालिक । केही समय मैले पनि उहाको संगत गरेथेँ म अलि सोझो मनको छु क्यारे मैले कमाउने तरिका जानिन । पैसाकै पछि दगुर्ने स्वभावको पनि म परिन त्यसैले पैसाले मलाई घृणा गरे होला ।
गएको महिना एक्कासी पशुपति मन्दिर परिसरमा उहाँसंग भेट भो । खुट्टा ढोग्दै मैले भने 'हजुरको प्रगतिलाई मान्नै पर्छ ।' उनले शालीनतापूर्वक भने 'हेर बाबु कमाउन त खुब कमाइयो खान न खुट्नसित । मिहिनेत पनि कम्ता गरिएन तर अहिले याँ सुगर र प्रेशर बढेर खान क्यै हुन्न । दबाई खान बिर्से फुत्रु फुत्रु हुन्छु, बुढियालाई नि सुगर छ गरुङ्गो क्यै गर्न सक्दिने । छोराछोरी सबै आफ्नै धुनमा । जति कमाए नि मर्दा जानि रित्तै रैछ, निरोगी हुनुजस्तो प्रगति त के हुन्थ्यो !' बुढा फेरिएछन् अचेल भन्ने अनुमान मैले गरेँ, बुढा आफू रोगिएकोले होला आरोग्यतालाई प्रगति माने ।

कतै कतै राजनीति गर्नु , नेता बन्नु वा कुर्सीमा पुग्नुलाई प्रगति मान्ने मान्छेहरु पनि छन् । मलाई त्यता तर्फ खास रुची नभएकोले धेरै थाहा भएन ।
टन्न कमाएका ती आफन्तपछि म पल्लो गाँउका ज्यामी दाइको कुरा सुन्न पुगेँ जो निकै बलिया र निरोगीको रुपमा चिनिन्थे । उनले सुनाए ' के गर्नु बाबु मैले आजसम्म शहरीया औषधी खाको छैन । अलि पहिला एकफेर नराम्ररी कुखत परो (टाइफाइड भो) त्यै नि चार छाक रानीसिन्की र ज्वानाको झोल खाको स्वाट ठिक भो ।' 
उनको निरोगिपनाको तारिफ मैले गर्नै परो किनभने मलाई एकबर्ष बिराएर ज्वरो आउने बानी नै छ र एन्टिबायोटिक नखाइकन ठिक हुदैन पनि मलाई त । उनले थपे 'उमेरमा त अरु चार जनाले बोक्ने दार म भए दुई जनाले नै बोकिन्थ्यो, त्यसै नाइके बनाका होइनन् मलाई । तर के गर्नु, जति गरे पनि बजारतिर घर किन्न सकिएन यैँ झुप्राको झुप्रैमा आनन्द मान्दछु ।' घुम्दैफिर्दै उनको परिभाषा धन केन्द्रित भयो ।

कतै लोकसेवामा अधिकृत परीक्षा पास गर्नुलाई प्रगति मान्ने समूह पनि छ । यसमा अहिलेका बहुसंख्यक विद्यार्थीहरुलाई मैले भेटेको छु । प्राय: शिक्षित गाउलेहरु यो समूह अन्तर्गत पर्नेजस्तो लाग्छ मलाई । गतिलो मानिने स्थाई जागिरलाई प्रगतिको केन्द्र मान्नेहरु प्रशस्तै पाइन्छन् । मैले चाहि यो प्रगति पनि गर्न सकिन ।

दुई चारजना बुज्रुकहरुको पनि परिभाषा र मान्यता बुझेपछि मेरो निस्कर्ष रहेको छ, प्रगतिको खास परिभाषा मैले ठम्याउन सकिन । यसले व्यापक क्षेत्र ओगट्ने रहेछ र यसको मुख्य विशेषता भनेको यसको परिभाषालाई आफू अनुकुल वा प्रतिकुल ब्याख्या गर्न सकिन्छ । तथापि मैले आफूमा प्रगतिको कुनै गन्ध पाइन । भविष्यमा केही गरिएछ भने यौटा आफू अनुकुलको परिभाषा मैले पनि दिनेछु प्रगतिको !!!!!




लाजिम्पाट काठमाण्डौ, २ वैशाख २०६९


Wednesday, April 18, 2012

मुक्तक


मुक्तक

सधै शुन्यता भो हरे जिन्दगी यो ।
छि छी लाश भन्छन् मरे जिन्दगी यो ।।
यहाँ बाँच्नुको मात्र चिन्ता सबैमा,
समाधान गाह्रो छ रे जिन्दगी यो ।।
कतै घाम जस्तै कतै रात जस्तै,
बिचल्ली हुने रात् परे जिन्दगी यो ।।

मुक्तक

तराई झरी धाक दिन्छौ हिमशैल टाकुराको ।
जरा काटी वशन्तमा आश गर्छौ आँकुराको ।।
मात्रीभूमि टुक्राउन भाइसंग युद्ध गरी ,
जित भयो वाह भन्छौ बीरपुर्खा पाखुराको ।।
जन्मभूमि माटोलाई छताछुल्ल बनाउन ,            
कमी छैन मरि मेट्ने स्वार्थी दुष्ट माकुराको ।।

Sunday, April 15, 2012

भारी छ मस्तिष्क यो


भारी छ मस्तिष्क यो ( शार्दुलवीक्रीडित )

हुन्थ्यो शान्त,थिएन सोच धमिलो चङ्गा थियो मन् पनि
प्यारो गाँउ वरिपरी सुख थियो हास्दै टहल्थ्यौँ अनि ।
के के नै मिलिहाल्छ हो शहरमा मेरो बडो भ्रम त्यो
चौतर्फी भ्रमजालको लहरले भारी छ मस्तिष्क यो ।१।

मान्छेमा सुविचार छैन धनको खेतीतिरै ब्यस्त छन्
सोझा निर्धन आत्मका तर धनी अन्यायले त्रस्त छन् ।
ठग्ने वा घुसखोर गर्न नसके अस्तित्व याहाँ गयो
मेरो लक्ष कता छ सोच्न नसकी भारी छ मस्तिष्क यो ।२।

पानीको पनि तिर्नुपर्छ रुपिया पाइन्न खै तै पनि
कोठामा कति ढाँड भाँड बढिगो थुप्रिन्छ फोहोर नि ।
पानीको अघि मुल्य तिर्नु अनि लौ तिर्नै छ शौचादिको
पैसाले लफडा गरेपछि अहो भारी छ मस्तिष्क यो ।३।

भोकै छौँ तर छैन इन्धन हरे खाना बनाऔँ कता,
साथीको पनि चाल यै भइदिदा के हुन्छ आत्मीयता ??
सम्ब्रिद्धी अनि सुख्खको रहरमा दिक्दार मात्रै भयो
सोच्दामा दुख कष्ट यी शहरका भारी छ मस्तिष्क यो ।४।

तर्कारीहरु मंगिएर सब यी किन्नै नसक्ने भए
कोठाको पनि मुल्य बढ्छ महिना सात् आठ मात्रै गए ।
निद्रामा सपना म देख्छु कहिले गाडी निजी बंगलो
जाग्दामा सब शुन्यता वरिपरी भारी छ मस्तिष्क यो ।५।

सारै कष्ट सहेर क्याम्पस सक्यो जागीर पाइन्न खै
आफ्नो भन्सुन सोर्सफोर्स नचले बाँच्नै नि गाह्रो छ है ।
यस्तो नर्क समानको शहरमा बुद्धीजती भ्रष्ट भो
अल्झिँदा दुख कष्टको बगरमा भारी छ मस्तिष्क यो ।६।

पैसाको लफडा बुझेर धनको सन्जालमा छन् सबै
चाहेको सुख मोज मस्त दुनीया पाइन्छ पैसासगै ।
खल्ती टम्म भए सबै र नहुदा केही न केही भयो
मैले टन्न कमाउदैन कि भनी भारी छ मस्तिष्क यो ।७।

लाजिम्पाट काठमाण्डौ, २०६८-११-१६


Monday, April 9, 2012

नया बर्षको शुभकामना


नया बर्षको शुभकामना (शार्दूलवीक्रीडित)

आयो फेरि नयाँ वशन्त ऋतुले नौलो लिई साल यो
आकांक्षाहरु तिव्र छन् मनभरी पुग्ला कहाँ सम्मको ।
यो बैशाख नया बनेर ठडिई बर्षै बितोस् हर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

पात्रो मात्र नया छ जिर्ण घरको भित्तो पुरानै भयो
ताजै छन् मनभित्र घाउ कतिका के हुन्छ उल्लास त्यो ।
शान्तीसंग विकासले गति लिई नेपाल उत्कर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

 

पैलाको रिसराग स्वार्थ नभुले खुल्दैन बाटो अब
साँच्चै देश बनाउने प्रण गरी बाटो खुलाऔँ सब ।
माटोको अनि न्यायकै विजय होस् सम्पूर्ण संघर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

यो पाली शुभकामना छ अधुरो आधा मनै चिन्तित
शान्ती स्थापित भै विकास पथमा लम्के सबैको जित ।
चाडै पुग्न सकोस् सबै दल मिली यो शान्ती निस्कर्षमा
यै मेरो शुभकामना ह्रिदयको लौ है नया बर्षमा ।।

लाजिम्पाट काठमाण्डौ, २०६८-११-१६


गजल


        गजल
पिरतीमा के गर्नु र कुरा स्वार्थ घातको !
रिसाएर एक्लै हिड्ने नरमाइलो मातको !

यो मनको कुरा सबै तिमीलाई थाहै छ नि,
के बयान गरु र म पत्रका ती खातको !

सारै स्वच्छ मन तिम्रो पूर्णिमाको जुनजस्तै,
जुनसंग मितेरी छ पूर्णिमामा रातको !

फूललाई रोज्छन् सबै स्वार्थी यो दुनीयामा,
मुल्य छैन कही पनि काँडा अनि पातको !

सधैभरि साथ दिई मिलेर बसौँ हामी,
सधै यस्तै चाहना छ सबिन प्रभातको !

बलेटक्सार गुल्मी , २०६२- २- २५




Thursday, March 15, 2012

Sweet Joke

Sweet Joke


Girl's version:
1st day:
i saw an idiot sleeping on the first bench
i said,"idiot!" :D
2nd day:
... saw the same idiot got punished
3rd day:
he was fighting with some boys
uuuuuhh,idiot! xD
4th day:
i couldn't find him
where is he?? :(

boy's version:
1st day:
when i opened my eyes,
i saw her smile :)
2nd day:
igot punished so that she could notice me through the whole class ;)
3rd day:
a boy said some thing about liking her,,,n i made him understand in my own way :D
4th day:
i was sitting on the last bench,she turned to find me,,,
n we smiled :)


Copied From FaceBook , Special thanks to Nayan Upd and Eagle Group



गजल


गजल
मासु खान्छ फ्याउरोले जिल्ल पर्छ काग यहाँ,
बिरालो भो शक्तिशाली डराउछ बाघ यहाँ ।
क्रान्ति के हो वास्तविक बुझेकाको आँखा छोपी,
प्रतिगामी स्वाँठलाई भन्छन् अझै जाग यहाँ ।
स्वच्छछवी कोइला भो सुनौलो छ आडम्बर,
नक्कली सुन् ढाकिदिन्छ कोइलाको दाग यहाँ ।
सर्प नाम हानी भयो अलि भ्रमजाल रची,
नामै मात्र बदलेर पूजीइन्छन् नाग यहाँ ।
कुर्सीमा छ बुद्धिमानी, कुर्सीमै छ शक्ति पनि,
मान्ने भए साथीहरु कुर्सी ढाल्न लाग यहाँ ।
परिवेश बाद्यताले साघुरियो यथार्थ नै,
सिस्नो पनि साग भयो रायो पनि साग यहाँ ।

कलंकी, काठमाण्डौ, २०६६-०९-०२


गजल


गजल
माया गर्नु तिमीलाई प्रभातको दोष छैन
मन शुन्य भएको छ अझैसम्म होष छैन।
चार दिन भइसक्यो तिमीलाई नदेखेको,
नदेखेरै हो कि कुन्नि केही गर्ने जोश छैन ।
भेट्नै पनि जान्थे बरु घरकाको डरले हो,
नजिकै हो घर तिम्रो बाटो आधी कोश छैन ।
मनैबाट चाहिएको साथी भेट्न नपाउदा,
अधैर्य बन्छ मन सबिन सन्तोष छैन ।
तिम्रालागि एकान्तमा म एक्लै रुदा रुदै,
आँखाहरु सुख्खा भए कत्तिपनि ओश छैन ।

२०६३-०३-२३ , साँझ ६ बजे , बलेटक्सार गुल्मी